News Portal

भारतमा २० दिनमा १० लाख कोरोना संक्रमित, संक्रमण वृद्धिदर अमेरिका र ब्राजिल भन्दा बढी

डबली संवाददाता२०७७ साउन २४ गते
२४६ पटक

काठमाडौँ । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको छ । दैनिक ५० हजारको हिसाबमा संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २० दिनमा १० लाख नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिले देखिएको संक्रमण दर अमेरिका र ब्राजिल भन्दा बढी रहेको छ । कोरोना संक्रमणको पहिलो नम्बरमा अमेरिका छ भने दोस्रोमा ब्राजिल । अहिलेको वृद्धिदर केही हप्तामात्रै रहेमा भारत कोरोना जोखिमको पहिलो नम्बरमा आउने अनुमान गरिएको छ ।

तथ्यांकहरुका अनुसार अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो । भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ । तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ ।

शुक्रबार भारतमा ६२ हजार १७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार रातिसम्म भारतमा संक्रमितको संख्या २० लाख ८७ हजार पुगेको छ । त्यस्तै, ४२ हजार ६७८ जनाले कोरोना कारण ज्यान गुमाइसकेका छन् भने सयौं संक्रमितको अवस्था पनि गम्भीर रहेको भातरीय संचारमाध्यमहरुले जनाएका छन् ।

जनसंख्याको हिसाबमा यो अन्य देशका तुलनामा धेरै नभएको भएपनि संक्रमण समुदायमा पुगेको र वृद्धिदर हेर्दा अमेरिका र ब्राजिल भन्दा पनि डरलाग्दो हुने देखिएको छ । भारतमा १.३ अर्ब जनसङ्ख्या छ ।

दुई महिनासम्म लगाइएको प्रतिबन्धात्मक व्यवस्था जुन महिनाको सुरुतिर अन्त्य गर्दै भारतमा अर्थतन्त्र क्रमिक रूपमा चलायमान बनाउँदै लगिएको छ।

भारतका विभिन्न राज्यमा परीक्षण दर पनि फरकफरक छ । केही राज्यमा प्रति १० लाख मानिसमध्ये ४० हजारको परीक्षण गरिएको छ भने अन्यत्र ६ हजार परीक्षण मात्रै गरिएको छ ।

दक्षिण भारतको आन्ध्र प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । आन्ध्र प्रदेश सर्वाधिक प्रभावित राज्यको सूचीमा महाराष्ट्र र तामिलनाडुपछि तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्