News Portal

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५८ पुग्यो, संक्रमित २१ हजार नजिक

डबली संवाददाता२०७७ साउन २० गते
१११ पटक

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । सोमबार साँझ कोशी अस्पताल उपचाररत विराटनगरका ७७ वर्षीय वृद्धको ज्यान गएको हो ।

विराटनगर महानगरपालिका– ५ निवासी वृद्धमा स्वास्थ्य समस्या देखिएपछि सोमबार विहान मात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्ट डा. चुमनलाल दासका अनुसार ती वृद्धलाई सोमबार विहान ९ बजेतिर अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । तर, रिपोर्ट नआउँदै वृद्धको निधन भइसकेको थियो ।
ज्वरो र स्वासप्रश्वास देखिएका वृद्धलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएपनि ल्याउने आफन्तलाई कोरोना जाँचका लागि आइसोलेशनमा राखिएको छ ।

चार दिनदेखि स्वास्थ्य समस्यामा देखिएका वृद्धको ट्राभल हिस्ट्री नदेखिएको अस्पतलले जनाएको छ । यो कोरोना समुदायमा प्रवेश गरेको पुष्टि भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । यसअघि मोरङमा एक जनाको ज्यान गइसकेको थियो । बुधबार मात्रै सोनवर्षी नगरपालिका ८ का १ जनाको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नजिक पुगेको छ । सोमबार थप ४१८ जनामा कोराना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनाको पोजेटिभ रिपोर्ट आएको हो । त्यसैगरी कोरोना जित्नेको संख्या १४ हजार ९१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सबैभन्दा धेरै पर्सामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८–८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुर, झापा र सुनसरीमा ५–५ जना, बारा र अछाममा ४–४ जना, ललितपुरमा ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २–२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्