News Portal

भारतको उत्तर प्रदेशकी शिक्षा मन्त्रीकाे कोेरोनाका कारण ज्यान गयो

डबली संवाददाता२०७७ साउन १८ गते
११२ पटक

काठमाडौं । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । कोरोना संक्रमणपछि लखनउस्थित पीजीआई अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

मन्त्री कमलालाई १७ जुलाईमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । लगत्तै उनलाई पीजीआईमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । केही दिनदेखि स्वास्थ्य अवस्था गम्भीर भएकी कमलाको आइतवार विहान ज्यान गएको हो । मुख्यमन्त्री योगी आदित्यनाथको विश्वास पात्र समेत रहेकी थिइन् ।

यसैबीच मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेको आदित्यनाथले बताएका छन् । कोरोनाका कारण भारत ज्यान गुमाउने पहिलो मन्त्री हुन् ।

सन् ३ मे १९५८ मा जन्मेकी कमला सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट निर्वाचित भएकी थिइन् । उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन् । यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन् ।

यसैबीच कोरोना संक्रमितको संख्या १७ लाख ५० हजार नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ हजार ३ सय ६४ जनाको ज्यान गएको छ । आजसम्म ११ लाख ४५ हजार संक्रमित निको भएका छन् भने ५ लाख ६७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ।

त्यस्तै पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पछिल्लो २५ घण्टामा ८ सय ५३ जनाले ज्यान गुमाएका छन् । भारत कोरोनाको जोखिममा विश्वको तेस्रो नम्बरमा छ ।

प्रतिकृया दिनुहोस्