News Portal

तरलता अधिक भएपछि बैङ्क तथा वित्तीय क्षेत्रमा ब्याजदर घटाउन प्रतिस्पर्धा

डबली संवाददाता२०७७ साउन १७ गते
१३९ पटक

काठमाडौं । कोभिड १९ का कारण अहिले बैकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ । बैङ्कको ऋण घट्दा र निक्षेप बढ्दा बैङ्कहरुको कोषको लागत बढिरहेको छ भने बैङ्क तथा वित्तीय क्षेत्रमा तरलता अधिक भएपछि बैङ्कहरुले ब्याजदर घटाउदै गईरहेको छन् ।

यो कर्जा तथा निक्षेपको ब्याजदर दुबैमा लागु हुने गरी घटिरहेको छ । साउन लागे सँगै निक्षेप र ऋण दुवको ब्याजदर घटदै् गईरहेको छ । चालु आर्थिक वर्षसुरु भएसँगै बैङ्क तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । केही बैङ्कको ब्याजदर एकल अंकमा आएको छ ।

एकल अंकमा नआएका बैङ्कको ब्याजदर पनि घट्ने क्रममा छ । ब्याजदर घटाएपनि नयाँ कर्जाको माग न्यून भएपछि बैङ्क तथा वित्तीय क्षेत्रमा यस्तो प्रतिस्पर्धा चलिरहेको छ ।

अहिले बैंकिङ प्रणालीमा १ खर्ब ८५ अर्ब रुपैयाँ तरलता छ । शुक्रबार नेपाल राष्ट्र बैङ्कले २० अर्ब तरलता बजारबाट प्रशोचन गरेको छ । यो सगै राष्ट्र बैङ्कले साउन ८ गते २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्टले बताएका छन् ।

अहिले बैकिङ क्षेत्रमा अहिले पौने २ खर्ब लगानी योग्य रकम छ । बैङ्कहरुमा लगानी गर्ने रकम प्रशस्त भएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा बैङ्कहरु छन् । तरलता बढेसँगै लगानी विस्तारका लागि बैङ्कहरुले आफूले दिने कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन् ।

त्यस्तै बैङ्कहरुलाई लगानी गर्न बाध्यात्मक अवस्था सिर्जना गर्नका लागि तरलता नतान्ने भनेको केन्द्रीय बैङ्कले अन्ततः २ पटक गरेर ४० अर्ब तरलता तानिसकेको छ ।

बैङ्कर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार आफूहरु लगानी गर्न बसेको र उचित माग आए लगानी गर्न तयार रहेको बताउँछन् । त्यस्तै बैकिङ विज्ञ अनलराज भट्टराईका अनुुसार बैङ्कमा लगानी योग्य रकम अधिक हुनु ऋणीका लागि फाइदा हो । कारण अहिले धमाधम कर्जाको ब्याजदर घटिरहेको छ । लगानी आकर्षित गर्न ब्याजदर घटाएर बैङ्कहरुले सूचना प्रकाशित गरिरहेका छन् ।

त्यस्तै राष्ट्र बैङ्कका अनुसार, असार मसान्तमा निक्षेप २५ अर्बले घटेको छ भने ऋण ३६ अर्ब रुपैयाँले घटेको छ । बैङ्कहरुसँग ३४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो ।

प्रतिकृया दिनुहोस्