News Portal

कोरोनाका कारण पाटन अस्पतालमा एक महिलाको ज्यान गयो, मृतकको संख्या ५६ पुग्यो

डबली संवाददाता२०७७ साउन १६ गते
९६ पटक

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार आईसीयूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ः १५ बजे निधन भएको हो ।
ललितपुर थसिखेलका बासिन्दा रहेकी उनी लकडाउन खुलेसँगै वीरगंजबाट भित्रिएको बताइएको छ । उनमा कोरोना लक्षण देखिएपछि साउन ६ गते अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि सुरुमा ललितपुरकै स्टार अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

यसअघि विहीबार वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको थियो । अब नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

यसैबीच कोरोना संक्रमण फैलिन थालेपछि सरकारले काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाएको छ । गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ ।

विहीबारबाट लागु हुने गरी गृह मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको छ । मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय विहीबार साँझबाट लागु हुने गरी सरकारले काठमाडौँ प्रवेश गर्ने नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइने भएको छ ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको छ ।

प्रतिकृया दिनुहोस्