News Portal

प्रहरी हेडक्वाटरमा ४४ र स्याङजामा एसपीसहित ३९ जना प्रहरी कर्मचारीमा कोरोनामा

डबली संवाददाता२०७७ साउन १५ गते
२६३ पटक

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार थप ४ जना प्रहरीमा कोरोना पोजेटिभ भएसँगै यो संख्या पुगेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बिहीबार प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए ।

त्यसैगरी स्याङजामा एसपीसित ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  गल्याङमा पनि एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या  भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा सुरक्षाकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै स्याङजामामात्रै एसपीसहित जिल्लाभरिमा ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गल्याङ नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख विपीन कोइरालाका अनुसार कुनै पनि ट्राभल हिस्ट्रीबिना गल्याङमा बिहीबारमात्रै २ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी छन् । संक्रमित कसैमा पनि लक्षण नदेखिएको उनले जानकारी दिए ।

स्याङजाकै पुतलीबजार नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमित पुष्टि भएका छन् । पुतलीबजार नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेका अनुसार बालविवाह मुद्धामा जिल्ला प्रहरी कार्यालयमा थुनुवामा रहेका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङजाकै विरुवा गाउँपालिका र भीरकोट नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २ जना, बागलुङ नगरपालिकाका एक जना, जैमिनी नगरपालिकाका एक जना र बडिगार्ड गाउँपालिकाका २ जना छन् ।

त्यस्तै तनहुँका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिकाका १ जना र ब्यास नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बौदीकालिका नवलपरासीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच वीरगञ्जमा ३ जना डाक्टरसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १५ महिला र ३८ पुरुष रहेका छन् । नारायणी अस्पतालले बुधवार राति ५३ जनामा कोराना संक्रमण पुष्टि भएको जनाएको छ ।

अस्पतालका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन् । अस्पतालका एम्बुलेन्स चालकलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन् । अन्य संक्रमित पनि यसअघि संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्य हुन्।

प्रतिकृया दिनुहोस्