News Portal

कोरोनाका कारण २ सय ६ नेपालीको ज्यान गयो

डबली संवाददाता२०७७ साउन ११ गते
१३५ पटक

काठमाडौँ । कोरोनाभाइरस संक्रमणका कारण २ सय ६ नेपालीको ज्यान गएको छ । योसँख्या नेपाल बाहिरको हो । विश्वका विभिन्न देशमा रहेका हजारौं नेपालीहरुमा कोरोना संक्रमण भएको छ । जसमा अहिलेसम्म नेपाल बाहिर १६१ जना र नेपालभित्र ४५ जनाको ज्यान गइसकेको छ ।

विश्वका विभिन्न देशहरुमा रहेका १६१ जनाको कोरोना कारण ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । शनिवार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

विश्वका ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० संक्रमित भएकोमा २९ हजार २ सय ४३ जना निको भएर नियमित काममा फर्केका सापकोटाले बताए । विदेशमा संक्रमितमध्ये ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना जितेका छन् ।

यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । अघिल्लो साता संक्रमणमुक्त भएको अफ्रिकी मुलुकमा पछिल्लो समयसम्म आउँदा फेरि संक्रमितको संख्या थपिएको छ ।

त्यस्तै शनिबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा कोरोना कारण ४५ जनाको ज्यान गएको छ । जसमा एकजना चिनियाँ नागरिक छन् । त्यस्तै, नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ भने विदेशमा ३० हजार नाघेको छ ।

समितिका अनुसार विदेशमा ज्यान गुमाउने नेपालीको शव पनि ल्याउन काम भइरहेको छ । अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी रहेको छ । यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्याई परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस्