News Portal

भारतमा कोरोना नियन्त्रणमा आउन सकेनः शुक्रबार ४९ हजार नयाँ संक्रमित, नेपालमा १३३

डबली संवाददाता२०७७ साउन ९ गते
३६१ पटक

काठमाडौं । नेपालमा शुक्रबार कोरोना भाइरसका १३३ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमण घट्दो क्रममा छ भने छिमेकी भारतमा बढ्दो क्रममा । शुक्रबार भारतमा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना नियन्त्रणमा आउने दिशातिर उन्मुख छ भने भारतमा झनझन फैलिरहेको छ । नेपालमा कोरोना संक्रमित १८ हजार नाघ्दा भारत विश्वको तेस्रो बढी प्रभावितको सूचीमा छ ।

नेपालमा कोरोनाका कारण शुक्रबार एकै दिन दुई जनाको गएर ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ भने भारतमा अहिलेसम्म ३० हजार भन्दा बढीको ज्यान गइसकेको छ । भारतमा गएको २४ घण्टामा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिनमा धेरै व्यक्तिमा संक्रमण देखिएको यो पहिलो पटक हो ।

योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान जानेको संख्या ३० हजार ६ सय १ पुगेको छ ।

भारतमा हिजो ४५ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ सय २९ जनाको ज्यान गएको थियो । कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ लाखभन्दा बढी निको भएका छन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ । त्यस्तै महाराष्ट्रमा १२ हजार ८ सय ५४ को ज्यान गएको छ । महाराष्ट्रमा अहिलेसम्म एक लाख ९४ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै तमिलनाडुमा एक लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीन हजार २ सय ३२ जनाको ज्यान गएको छ ।
तमिलनाडुमा एक लाख ३६ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै राजधानी दिल्लीमा एक लाख २७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिल्लीमा कोरोना संक्रमणबाट तीन हजार ७ सय ४५ जनाको ज्यान गएको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये एक लाख ९ हजारभन्दा बढी निको भएका छन् । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप दुई जनाको ज्यान गएको छ । देशभर कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको मन्त्रालयले बताएको छ । अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ८३ जना रहेका छन् ।त्यसैगरी थप १०७ जनाले कोरोना जितेर घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्