News Portal

कोरोनाका कारण बारामा १७ वर्षीय युवतीको ज्यान गयो, मृतकको संख्या ४५पुग्यो

डबली संवाददाता२०७७ साउन ९ गते
१३४ पटक

काठमाडौँ । नेपालमा थप एक जनाको कोरोनाबाट ज्यान गएको छ । शुक्रबार बाराकी १७ वर्षीय युवतीको ज्यान गएको हो । कोरोना विशेष अस्पतालमा ज्यान गएकी युवतीमा कोरोना संक्रमण रिपोर्ट आएको छ ।

बाराको परवानीपुर गाउँपालिका–४ घर भएकी युवतीको नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायका अनुसार कोरोनाको लक्षण देखिएपछि विहीबार कोभिड अस्पतालमा उपचार सुरु गरिएको तर उनको ज्यान गएको थियो । स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । त्यसपछि कोरोना संक्रमणको आशंकामा गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा युवतीको शुक्रबार अपरान्ह ज्यान गएको छ ।

युवतीलाई पखाला लाग्ने, जिउ काम्ने र स्वास प्रश्वासमा पनि समस्या आएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

यसअघि शुक्रबार विहानै बिहान पर्साको वीरगञ्जकी ८५ वर्षीया कोरोना संक्रमित महिलाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार तप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै देशभर कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ८३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् ।

अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण भएको छ । हाल १९ हजार ७ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ८३ जना आइसोलेसनमा रहेका छन् । पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् ।

प्रतिकृया दिनुहोस्