News Portal

देशभर भारी वर्षाः बाढी-पहिरोमा परी ९ जनाको ज्यान गयो, काठमाडौँ उपत्यकामा आवतजावत बन्द

इमान कुमार बटाला २०७७ साउन ६ गते
३०९ पटक

काठमाडौँ । केही दिनदेखि देशभर लगातर वर्षा हुँदा फेरि जनधनको क्षति भएको छ । काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग बन्द भएको छ । देशभरका नदी र खोलाहरुमा पानीको सहत खतराभन्दा माथि छ । बाढीका कारण सप्तकोशीमा पानी खतराभन्दा धेरै माथि पुगेको छ ।

वर्षाका कारण पहिरोमा परी धादिङ एकै परिवारका तीन जनाको ज्यान गएको छ । धादिङ प्रहरीका अनुसार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका मिलन खाँडको घर पहिरोले पुरिएको छ । राति सुतिरहेका २५ वर्षीय मिनसँगै उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँडको ज्यान गएको छ ।

सोमबार मात्रै बाढी र पहिरोमा परी देशभर ७ जनाको ज्यान गएको पुष्टि भएको थियो । योसँगै दोस्रो पटक आएको भारी वर्षासँगै आएको बाढी–पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने केही व्यक्ति हराइरहेका छन् । यसैबीच भारी वर्षाका कारण सप्तकोसी नदीमा मंगलबार बिहानबाट पानीको बहाव खतराको बिन्दुभन्दा माथि पुगेको छ । पानी खतराभन्दा माथि पुगेसँगै ४८ ढोका खोलिएको छ । भारतमा बाढी हुने भन्दै ढोका हल्का मात्रै खोलिएकोले नदी आसपासका बस्ती डुबान हुने खतरा रहेको स्थानीयले बताएका छन् ।

नियन्त्रण कक्षका अनुसार मंगलबार बिहान ५ बजे कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ । कोसीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको बताउँदै स्थानीय प्रशासनले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

सोमबार आएको पहिरोमा परी कागेश्वरी मनोहरा–१ गागलफेदीस्थित घट्टेखोलाका २२ वर्षीय नवराज गुरुङको ज्यान गएको थियो । दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलाले बगाएर ४२ वर्षीय मानमती ठगुन्ना र ५ वर्षीया बालिका आरती ठगुन्नाको ज्यान गएको प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीका अनुसार पहिरोले पुरिएर तनहुँमा २ जनाको ज्यान गएको छ । भानु नगरपालिका–९ की ८० वर्षीया तिलमाया धौराली र १४ बर्षीया सितस्मा धौरालीको ज्यान गएको हो ।

गोरखाको गण्डकी गाउँपालिका–१ फुजेलकी २४ वर्षीया लक्ष्मी गुरुङको ज्यान गएको छ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ बर्षिया किशोरी निरुता परियारको ज्यान गएको प्रहरीले बताएको छ ।

त्यसैगरी सोमबारसम्म दुई पक्की पुलसहित ठूलो क्षति पुर्याएको छ । काठमाडौँ आउने पृथ्वी राजमार्ग अन्तरगत धादिङको मौवाखोला पुल पक्की पुल र बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । मौवाखोला पुल भत्किएदेखि राजधानी काठमाडौं आवतजावत ठप्प भएको छ ।

काठमाडौं–हेटौंडा सडक खण्डको सिस्नेरीतर्फ हेभी सवारीसाधन र सुकेरामा सडक अवरुद्ध भएको छ । तनहुँको डुम्रेबाट लमजुङ तर्फ जाने सडकखण्डको रमाइलो डाँडामा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।

त्यसैगरी लमजुबाट मनाङतर्फ जाने सडक र रसुवाको स्याफ्रबेसी–टिमुरे पासाङल्हामु सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्