News Portal

भारी वर्षाः पहाडमा बाढी-पहिरो, तराईमा डुबान, बुधबारसम्म भारी वर्षा हुने

डबली संवाददाता२०७७ साउन ५ गते
३२९ पटक

काठमाडौँ । अहिले देशभर अबिरल बर्षा भइरहेको छ । आइतबार साँझबाट पर्न सुरु भएको पानी अहिले पनि जारी छ । बर्षाका कारण भएको क्षतिको प्रारम्भिक विवरण आउन थालेका छन् । पहाडी क्षेत्रमा बाढी पहिरो र तराइका धेरै क्षत्र डुबानमा परेका छन् ।

त्यसैगरी बर्षाका कारण विभिन्न राजमार्गमा पहिरो खसेको छ भने कोशीलगायतका बाँध नदीहरुमा पानीको सतहमा खतराको संकेत भन्दा माथि पुगेको छ । हुलाकी, मध्यपहाडी राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ ।

त्यस्तै, बर्षाका कारण मुग्लिन–नारायणगढ सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको हो ।

प्रहरीका अनुसार अहिले पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन प्रयास जारी रहेनपनि तत्काल सम्भव छैन । त्यस्तै तानसेन सडकमा पनि पहिरो आएको छ ।
आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित धेरै क्षेत्र डुबानमा परेका छन् । जिल्लास्थित सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न छन् ।

जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा पानीको सतह बढेर बस्तीमा पसेको छ । डुबान भएपनि अहिलेसम्म मानविय क्षति नभएको प्रहरीले बताएको छ । मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत अवरुद्ध भएका छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेकोले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जानेछ ।

महाशाखाका अनुसार प्रदेश १ धेरै ठाउँहरुमा भ‍ारी वर्षा हुनेछ । त्यस्तै, मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्