News Portal

सुदूरपश्चिमका सबै जिल्लामा पुग्यो सलह, २० करोडको झुण्ड फेरि आउने सम्भावना

डबली संवाददाता२०७७ साउन ४ गते
११६ पटक

काठमाडौं । केही पहिले नेपाल प्रवेश गरेको सलह सुदूरपश्चिमका सबै जिल्लामा पुगेको छ । स्थानीयका अनुसार सुर्खेत हुँदै पश्चिम लागेको सलह कैलाली, कञ्चनपुर, डोटी, अछामसहित ९ वटै जिल्लामा फट्टफुट्ट देखिन थालेको छ ।

कर्णाली प्रदेशका पनि अधिकांश जिल्लामा पुगेको सलह शनिबार सुर्खेतमा लाखौंको संख्यामा देखिएको थियो । चिसोमा बच्न नसक्ने भनिएको सलह हिमाली जिल्ला जुम्लामा समेत पुगेर किसानको बाली खाइरहेको छ ।

यसैबीच भारतबाट फेरि ठूलो संख्यामा सलह आउने खतरा बढेको छ । प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार भारतीय सिमावर्ती क्षेत्रमा १५,२० करोडको संख्यामा सलहको झुण्ड रहेको र त्यसमध्ये आधा मात्रै नेपाल आए भने पनि धेरै क्षति गर्न सक्छ । भारतको राजस्थानमा रहेको यी सलहको झुण्ड मौसम अनुकूल भएमा भोलितिर नेपाल प्रवेश गर्ने सम्भावना रहेको सुवेदीले बताएका छन् ।

पुनः सक्रिय भएको मनसुनसँगै सलह नेपाल प्रवेश गर्न सहज हुने देखिएको छ । भोलिदेखि हावाको दिशा दक्षिणबाट उत्तरतिर तीब्र बेगमा बहने हुनाले सलहको ठूलो झुण्ड नेपाल आउन सम्भावना रहेको छ । तर नेपालमा मनसुन थप सक्रिय भैरह्यो भने भोलि नआएर अर्को २, ३ भित्र पनि आउन सक्ने बताइएको छ ।

यो पटक सलह पश्चिम तराईबाट नेपाल आउन सक्ने बताउँदै विज्ञहरुले सावधानी अपनाउन आग्रह समित गरेका छन् । तर, के र कसरी सावधानी अपनाउने भन्ने किसानलाई थाहा नै छैन । अहिले नआए सलह भदौसम्म नेपाल आउन सक्ने बताइन्छ ।

प्रतिकृया दिनुहोस्