News Portal

संक्रमणपछि उपचारमा रहेका काँग्रेस नेता शाहीले भने- चिन्ता नलिस्, म कोरोनासँग जितेरै छोड्छु

डबली संवाददाता२०७७ साउन १ गते
४२५ पटक

सुर्खेत । नेपाली काँग्रेसका नेता तथा सांसद जीवनबहादुर शाहीले आफूले कोरोनासँग जितेरै छोड्ने बताएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्यको चिन्ता नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्य पहिलेजस्तै भएको भन्दै कोरोनासँग जितेर फर्किने बताएका छन् ।

कोरोना संक्रमणपछि आइसोलेसनमा उपचार गराइरहेका शाहीले पार्टीका नेता कार्यकर्ता, मतदाता, समर्थक तथा शुभचिन्तकहरुलाई चिन्ता नगर्न आग्रह गर्दै आफूले कोरोनासँग जित्ने बताएका छन् । शाहीले आफ्नो मनोबल उच्च भएकोले पनि कोरोना संक्रमणको खासै प्रभाव नपरेको बताएका छन् ।

“म कोरोनासँग जितेर फर्किनेछु । मेरो स्वास्थ्यमा कुनै असर परेको छैन । मेरो स्वास्थ्यलाई लिएर चिन्ता नलिनुस्” शाहीले सहयोगीमार्फत अनलाइन डबलीसँग भने । उनले कोरोना भाइरस पनि एउटा रोग भएको बताउँदै संक्रमण हुँदैमा डराउन नपर्ने बताए । शाहीले कोरोनासँग कुनै पनि लक्षण आफूलाई नदेखिएको तर कोरोना पोजेटिभ भएकोले उपचारमा रहेको बताएका छन् ।

हुम्ला जिल्लाबाट प्रदेशसभा सदस्य तथा काँग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले सहयोगीमार्फत पार्टीका नेता,कार्यकर्ता, परिवार तथा आफन्तलाई आफूलाई कुनै समस्या नभएको खबर पठाइरहेका छन् । उनले अरु संक्रमितहरुलाई पनि मनोबल दरो बनाउनु समेत सुझाव दिँदै आएका छन् ।

सांसद शाहीले आफ्नो भन्दा पनि कर्णालीबासीको बढी चिन्ता लाग्ने गरेको बताउँदै कोरोनाबाट बच्न लकडाउनका पालना, सामाजिक दूरी कायम, मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोगजस्तो उपायको प्रयोग गर्न कर्णालीबासीलाई आइसोलेसनबाटै सुझाव दिएका छन् । त्यसैगरी कोरोनाबाट बचाउन सरकारलाई जिम्मेवार बन्न समेत शाहीले आग्रह गरेका छन् । कोरोना संक्रमण हुने पहिलो सांसद हुन शाही । कर्णाली प्रदेशमा समुदायमा कोरोना पुगेको छ ।

असार ३० गते शाहीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शाहीको सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्