News Portal

ओलीको कमजोर कूटनीतिले आन्तरिक मामिलामा हस्तक्षेप

प्रा.डा. गोपाल शिवाकोटी
३५३ पटक

नेपालको कमजोर कूटनीतिक प्रक्रिया र सत्ता स्वार्थले गर्दा विदेशबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप तिव्र रुपमा भएको देखिन्छ । पछिल्लो चरणमा नेपालको सत्ताधारी दल नेकपाभित्र विवाद भएपछि चिनियाँ कूटनीतिज्ञ होउ यान्छीको बढेको सक्रियता र नेताहरुलाई घर–घरमा समेत गई भेट्ने कार्यले गर्दा नेपालको कूटनीतिक प्रक्रिया र अभ्यासको कमीले गर्दा नेपालको आन्तरिक मामिलामा समेत चिनियाँ पक्षबाट हस्तक्षेप भएको भनि यसको सर्वत्र आलोचना भएको छ । चीनले कहिलेपनि अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र शान्त कूटनीतिक अभ्यास गरिरहेकोमा वर्तमान अवस्थामा देखिएको राजदूत यान्छीको सक्रियताले गर्दा चिनियाँहरुले पनि नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्ने कार्यहरु सुरु गरेको कुरा सर्वत्र आलोचित बन्न पुगेको छ ।

सत्तारुढ नेकपाभित्र चलिरहेको शक्ति संघर्षको अवस्थालाई साम्य पार्न चिनियाँ राजदूत होउ यान्छीले मिलाउन प्रयास गरि भेटघाट गरिरहेको भनिएको तथा यो भेटघाटमा परराष्ट्रमन्त्रीको उपस्थिति गराएर मात्र भेटघाट गर्नुपर्ने व्यक्तिहरुले समेत यो कूटनीतिक प्रक्रियालाई बिर्सिएर घर–घरमा भेटघाट गर्ने कार्यले गर्दा कूटनीतिक प्रक्रियामा नेपाल अत्यन्त कमजोर र दरिद्र अवस्थामा रहेको देखाएको छ ।  राणाशासन अन्त्य भएपछि नेपाली काँग्रेसको आन्तरिक विवादमा भारतीय पक्षले कलकत्तामा बोलाएर विश्वेश्वर प्रसाद कोइराला र मातृकाप्रसाद कोइराला दाजुभाईबीच एकता गर्न दबाब दिएको विषय नै हाल दोहोरिएको देखिन्छ । चिनियाँ राजदूत होउ यान्छी, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सत्तामा टिकाउनका निम्ति दौडधुप गरेको भनि विश्वास गरेको हुँदा यो नेपालको आन्तरिक मामिलामा को प्रधानमन्त्री हुने वा नहुने भन्ने कुरालाई आपसमा मिलेर सुल्झाउनुपर्नेमा विदेशी कूटनीतिज्ञहरुलाई प्रवेश गराउने र यसरी प्रवेश गर्दा पनि कूटनीतिक मर्यादा र प्रक्रियाले भेटघाट गर्न दिनुले नेपालको कूटनीति अत्यन्त कमजोर तथा अपरिपक्व रहेको कुरा पुष्टि हुन्छ ।

यसले गर्दा वर्तमान नेतृत्वले मर्यादीत कूटनीतिसँग सम्बन्धविच्छेद गर्ने कार्य देखिएको छ । यसले नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय गर्न सक्ने क्षमतामा समेत प्रश्न उठ्न गएको छ । यो भन्दा पहिला भारतीय राजदूतले नेपालको आन्तरिक मामिलामा दौडधुप गर्ने तथा सुक्ष्म व्यवस्थापन्मा समेत हस्तक्षेप गर्दै आएकोमा पछिल्लो समयमा चिनियाँ राजदूतले यही अभ्यासलाई दोहो¥याएर आफ्नो कूटनीतिक मर्यादा र पक्रियालाई समेत छोडेको कुराले नेपालको कूटनीतिकमा खैलाइचीपन देखिएको छ, त्यो अत्यन्त गलत रहेको छ । यसबाट नेपाली नेतृत्वहरु आफ्नो निर्णय आफै गर्न सक्दछन्, कसैको निर्देशनमा गर्दैनन् भन्ने कुराको दावा गरेतापनि यी कुरालाई राजदूत यान्छीको भेटघाटले गलत प्रमाणित गरिदिएको हुँदा नेपालको नेतृत्व र कूटनीतिक क्षमतामा समेत प्रश्न उठाएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई हटाउन लागेको भन्दै मदनजयन्तीको दिनमा अभिव्यक्ति दिएका थिए । भारतीय पक्षले आफ्नो राजीनामा गराउनका लागि आफ्नै पार्टी दलका नेताहरुसँग भेटघाट गरेको भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको आन्तरिक विवादले उग्र रुप लिएको छ । जसले गर्दा नेपालको कूटनीतिक क्षेत्रमा नेपाल कमजोर भएको कुरा छताछुल्ल भएको छ । नक्सा प्रकाशित भएपछि नेपाल र भारतबीच भएको सीमा विवादलाई कूटनीतिक राजनीतिक वार्ताबाट संयम्तापूर्वक भारतलाई वार्ताको टेबुलमा बसाएर कूटनीतिक वार्ता गर्न चौतर्र्फी दबाब दिएको अवस्थामा प्रधानमन्त्रीको जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले भारतले आफ्नो राजीनामा गराउन आफ्नै साथीहरुलाई उक्साएको जस्तो अभिव्यक्ति दिनुले कति मयार्दा अनुकूल छ भन्ने आफै बुझ्नु जरुरी छ ।

यदि भारतीयहरुले आफ्नै नेताहरुलाई भेटेर दबाब दिएको भए, प्रधानमन्त्रीले यस्ता कूटनीतिक मर्यादाविरुद्ध उकास्ने भारतीय कूटनीतिक तथा व्यक्तिहरुलाई बोलाएर आफ्नो विरोध राख्न सक्दथे वा त्यस्ता व्यक्तिलाई कूटनीतिक मर्यादाअनुकूल देशनिकाला गर्न सक्ने थिए । तर, यसो नगरी सार्वजनिक समारोहमा भारतलाई उत्तेजित पार्नेगरी जुन अभिव्यक्ति दिने कार्य भयो, यो शान्त, मर्यादीत कूटनीतिक र भारतसँग भएको सम्बन्धलाई सुधार गरी कूटनीतिक वार्तामा ल्याउने कुरालाई पर धकेल्ने कार्य गरेकोले यसलाई कूटनीतिको सिद्धान्त अनुकूल मानिदैन । कूटनीतिको सिद्धान्तअनुसार बढी सुन्ने र कम बोल्ने गर्नुपर्दछ भनिन्छ । त्यसैले गर्दा भगवानले मानिसमा दुईवटा कान, दुईवटा आँखा र बोल्न , खान एउटा मात्र मुख दिएअनुसार नै बढी सुन्ने, हेर्ने र कम बोल्ने गर्नुपर्दछ भन्ने मान्यता रहेको छ । तर, अहिलेको अभ्यासले गर्दा अरुले भनेको सुन्ने, हेर्नेभन्दा पनि आफूले बढी बोल्ने र अरुको सुन्दै नसुन्ने जस्ता गलत आचरण र गलत नीति प्रधानमन्त्री साथै अन्य नेताहरुबाट पनि भईरहेको देखिएको छ । अझ झन् पछिल्लो समयमा प्रधानमन्त्रीले राम र अयोध्याको विषयलाई बोलेर राष्ट्रवादी दरिन खोजेपनि उनले भारतसँगको कूटनीतिक पहलकदमीलाई थप जटिलतामा पुर्याउने काम गरेका छन् ।

यस्तै कूटनीतिक प्रक्रिया र सिद्धान्तविपरित नेपालको नेताहरुको चिनियाँ राजदूतसँग भेटघाट गर्ने कार्य भएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग उनकै निवास डल्लुमा पुगेर चिनियाँ राजदूत यान्छीले उनीसँग भेटघाट गरेकी थिइन् । यसको साथै अर्का पूर्वप्रधानमन्त्री माधव नेपालसँग उनकै निवास कोटेश्वरमा गएर भेट गरेकी थिइन् भने राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्रीसँग उनकै आवासमा गई भेट गरकी थिइन् । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अडान नछोड्दा विवाद चर्कीएपछि पूर्वप्रधानमन्त्री रहेको प्रचण्डसँग उनकै निवास भैसेपाटीमा गई भेटघाट गरेर सि जिनपिङको सन्देश सुनाएपछि नेकपाको विवाद साम्य भएको छ र उत्कर्षमा पुगेको विवाद मत्थर भएको छ । स्थायी समितिको बैठक समेत सात दिनको निम्ति स्थगित गरिएको थियो ।

भारतको दिल्लीमा भएको माओवादी र अन्य दलबीच भएको १२ बुँदे सहमतिपछि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी सुक्ष्म व्यवस्थापनमा समेत जवाफ दिने तथा संविधान घोषणा नगर्नका निम्ति दबाब दिन जयशंकरण समेत नेपाल आएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका थिए । यसै अवस्थामा पुष्पकमल दाहाल प्रचण्डले खुला रुपमा नेपालमाथि दिल्लीको रिमोट कन्ट्रोल भएको भनेका थिए भने शेरबहादुर देउवाको दिल्ली भ्रमणपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाईएको थियो ।

माधव नेपाललाई दिल्लीको रिमोट कन्ट्रोलको रुपमा चलेको भनि प्रस्तुत गरेका थिए भने ओलीलाई हटाउने कार्य पनि दिल्लीकै इशारामा भएको हुँदा हालै केपी शर्मा ओलीले माधव–प्रचण्ड गुटले आफ्नो राजीनामा दिल्लीले गराउन लागेको भन्ने आक्षेप लगाएको कुरालाई अगुल्टोले हिर्काएको कुकुरलाई बिजुली चम्किँदा पनि डराउँछ भनेजस्तै पार्टीभित्रको विवाद पनि दिल्लीले गराएको भन्ने आक्षेप लगाएका हुन् । तर, बुझ्नुपर्ने कुरा के छ भने, कम्युनिष्टहरु आन्तरिक संघर्षबाट समाप्त हुन्छन् भन्ने द्वन्द्ववादी भौतिकवादमा विश्वास गर्ने भएकोले बाह्य दबाब बाट परिवर्तत हुने यान्त्रिक कारणबाट कुनैपनि कुराको विकास हुँदैन तथा परिवर्तन पनि हुँदैन भन्ने कुरा बुझ्नु पर्ने हो । यो बाह्य नभई आन्तरिक कारणबाट नै सिर्जित भएको द्वन्द्व हो । यदि कम्युनिष्ट द्वन्द्वात्मक भौतिकवादलाई मान्ने कुराको उपेक्षा गरी बाह्य तत्वलाई प्रमुखता दिने संस्कार नेपालमा विकसित भएको देखिएको छ । यो प्रधानमन्त्रीले भारतलाई आक्षेप लगाएर आफ्नो राजीनामा गराउन खोज्यो भन्ने टिप्पणी र आफ्नो मर्यादाभन्दा तल झरी टिकाटिप्पणी गरेपछि भारत र नेपालका मिडियाबीच युद्ध सुरु भएको छ । यसैक्रममा गलत सूचनाको खेती फस्टाउन थालेको छ जसले गलत र सहि कुन हो भन्ने छुट्याउन समेत गाह्रो रहेको छ । मिडियाहरुले सत्य तथ्यको आधारमा समाचार सम्प्रेषण गर्नेभन्दा पनि पितपत्रकारिता र एकअर्कालाई आक्षेप लगाएर समाचार टिप्पणीहरु सम्पे्रषण गर्ने, तोडमोड गर्नेजस्ता गैरजिम्मेवार कार्य मिडियाको प्रपोगाण्डाले नेपाल र भारतबीच शान्त कूटनीतिबाट वार्तामा बस्ने कुरालाई अरु जटिल बनाउने कार्यले नेपाल–भारत दुवैबीचको कूटनीतिमा समेत गम्भिर क्षति पुगेको देखिएकोछ । भारतीय मिडियालाई गोदी मेडिया भनि आक्षेप लगाउने कार्यले गर्दा भारतीय पक्षले ओली मिडिया भनि आक्षेप लगाएर शित युद्ध प्रारम्भ गरेर हिटलरको जस्तै प्रपोगाण्डाको युद्ध सुरु भएमा यसले कूटनीति क्षेत्रलाई समेत ठूलो नोक्सान पु¥याउने देखिएको छ ।

कम सुन्ने, बढी बोल्ने र मिडियालाई माइकमा परिवर्तन गरी उनान्सय पटक झुटो कुरालाई बारम्बार भनि सत्य हो भन्ने हिटलरको मन्त्री गायेवलस् शैलीमा प्रपोगाण्डा गराएमा यो कार्य कमजोर कूटनीतिको रुपमा दुवै पक्षले अपनाउने कार्य गरेको हुँदा दुवै थरी कूटनीतिलाई मर्यादाहिन र तल्लो तहको गालिगलौच गर्ने कार्यको रुपमा बुझेको जस्तो देखिएको छ । नेपालको नीतिकथामा एउटा बाहुनले बोको किनेर काँधमा हालेर ल्याउँदा चार जना ठग मिलेर कस्तो कुकुर बोकेर ल्याएको भन्दा बाहुनले मैले कुकुरालई नै साच्चै बोकेर ल्याए की के हो भनि छोडेर हिडेको कथाबोध गर्नु, भेडा गोठाला रामेले बाघ आयो भनि कराउँदा कराउँदै साच्चै बाघ आउँदा कोही मानिस नआएको जस्तो नहोस् । तर, कूटनीति भनेको गालीगलौच गर्नु, होच्याउनु, प्रशंसाको पुल बाँध्ने, चिप्लो घस्ने कुरा होइन भन्ने बुझ्न छोडेको जस्तो देखिएकोप्रति कूटनीतिक जानकारहरु चिन्तित भएका छन् ।

यसभन्दा पहिला भारतीय राजदूतले सक्रिय भई भेटघाट गर्ने कार्य गर्दा तत्कालिन उपप्रधानमन्त्री तथा विदेशमन्त्री नारायणकाजी श्रेष्ठको समयमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा कूटनीतिक भेटघाट गर्न पाउने व्यवस्था गरिएको थियो । र यो भेटघाट पनि परराष्ट्रको उपस्थितिमा मात्र गर्न पाउने व्यवस्था हुँदा पनि राष्ट्रपतिसँग सिधै भेट गर्ने प्रयासले विवाद उत्पन्न भएको थियो । यस्तै उपेन्द्र यादव प्रधानमन्त्री र विदेशमन्त्री हुँदासमेत भेटघाट र अरु पक्षसँग कुराकानी गर्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधि राख्ने कुरलाई पुनः पुष्टि गरिएको थियो । तर, हाल स्वयम उपेन्द्र यादवले विदेश सञ्चारसँग कुरागर्दा यी विदेशी सञ्चारले आफूले भनेको कुरा बंगाएर प्रसारण गरे भनि दिएको अभिव्यक्तिले गर्दा स्वयम उपेन्द्र यादव समेत आफूले निर्धारण गरेको नियम विपरित कार्य गरिरहेको छन् भन्ने कुराको पुष्टि भएको छ ।

यद्यपि चिनियाँ राजदूतले नेपालका राष्ट्रपति विदादेवी भण्डारीसँगको भेटघाटमा नेपालको आन्तरिक राजनीतिक मामिलामा नभई कोरोना भाईर र अन्य दुईपक्षीय चासोको विषयमा कुराकानी गरेको भनि चिनियाँ प्रवक्ता चाङ सीले प्रष्टिकरण दिएकी थिइन् । तर, राष्ट्रपति स्वयम नै पार्टीको विवादलाई लिएर सक्रिय भएको अवस्थामा चिनियाँ राजदूतले परराष्ट्र मन्त्रालयको अनुमति नलिई र परराष्ट्रमन्त्रालयको प्रतिनिधिको उपस्थितिबिना गरिएको भेटवार्ता, कूटनीतिक आचरण विरुद्ध रहेको भन्ने प्रष्ट देखिन्छ । यो भारतीय राजदूतले यसभन्दा अघि देखाउने सक्रियताको नयाँ चिनियाँ संस्करणको रुपमा विकसित भएको रुपमा हेरिएको छ । यसले चीनको बद्लिदो कूटनीति र नेपालको राजनीतिज्ञहरुले आफ्नो व्यक्तिगत स्वार्थको निम्ति विदेशी कूटनीतिज्ञ को सहयोगमा भर पर्ने तथा आफ्नो क्षमताको दरिद्रता देखाउने नमूनाको रुपमा देखा परेको छ । यसले नेपालको कमजोर कूटनीति र अभ्यासलाई छताछुल्ल पार्ने कार्य देखाएको छ ।

राणाविरोधी आन्दोलनको समयमा राजा त्रिभुवन भागेर भारतीयशरणमा पुगेपछि नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप गर्ने अनेक शृङ्खलाहरु प्रशस्त रहेको छन् । भारतका प्रधानमन्त्री जवाहरलालनेहरुले नेपालको प्रधानमन्त्री मोहनशम्शेरसँग पाँच सूत्रीय सम्झौता गरी राणाशासनको अन्त्य गरी नेपालमा औपनिवेशिक राज्य खडा गरेपछि नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप सुरु भएको थियो । र त्यसबेला राजा त्रिभुवनको पिएको रुपमा भारतको आईपीएस गोविन्द नारायण सिंह थिए भने क्याबीनेट बैठकमा भारतका सिपीएन सिंह सोही बस्ने गर्दथे भने निर्णयको पहिलो प्रति भारतीय राजदूतावासमा बुझाउने कार्य गरिएको थियो । भारतीय राजदूत क्याविनेट सचिवसरह माइन्युट समातेर बस्ने चलनबाट आरम्भ भएको यात्रा नै अहिलेको भारतीय दबाब इन्कार गर्दै संविधान जारी गर्ने र धम्कीको बेवास्ता गर्दै नक्सा सार्वजनिक गर्ने ठाउँसम्म आईपुगेको छ । आर्थिक पराधिनताको दृष्टिले र कतिपय नेताविशेषका हितका कारण वर्तमान अवस्थामा पनि नेपालको स्वतन्त्र अस्तित्वमा प्रश्न उठेको छ । एमसीसी काण्डले नेपालले आफ्नो असंलग्न कूटनीतिलाई परित्याग गर्ने आर्थिक प्रलोभनमा परी अमेरिकी सैनिक गठबन्धनमा जाने जस्ता गलत कूटनीति भएको छ । अहिलको सत्तारुढ दलभित्रको परिणाम यही एमसीसी काण्डले गर्दा अमेरिकाबाट गराईएको रुपमा समेत हेरिएको छ । यही गलत अभ्यासले गर्दा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको रुपमा समेत हेरिएको छ ।

यति हुँदाहुँदै पनि नेपालले आफ्नो सार्वभौमसत्ता र अखण्डताको संरक्षण गर्नका लागि नक्सा पास गरी अभूतपूर्व राष्ट्रिय एकताको प्रदर्शन गरेको छ । नेपालीहरुमा राष्ट्रहितका सवालमा एकताबद्ध भएर उभिने राजनीतिक संस्कारको पनि विकास हुँदै गएको छ । गणतन्त्र स्थापनापछि को नेपाल छिमेकीसँग पहिलेभन्दा प्रभावशाली रुपमा आफ्नो कुरा राख्ने सक्ने भएको छ । तर, नेताविशेष र दलविशेषका कतिपय चासो र अभिव्यक्ति तथा सम्बन्धले भने हाम्रो नेतृत्वमा आफ्नो आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई घुमाईफिराई स्विकार्ने वा आफ्नो राजनीतिक अविष्टलाई प्रतिपक्षी शक्ति तथा व्यािक्तलाई विदेशी हितमा काम गरेको भनि आरोप लगाउने प्रवृत्तिले पनि नेपालको कटनीतिक विचलित भएको देखिएको छ ।

सत्तारुढ दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आफ्नो दलका अरु नेताहरु भारतीयसँग मिलेर आफ्नो सरकार ढाल्न खोजेको भन्दै लगाएको आरोपको अहिलेसम्म नेकपाले औपचारिक रुपमा खण्डन गरेको छैन । तथा, यसैसम्बन्धमा यस्तो कार्य गरेको भए भारतका कसकसले र त्यसमा दलको कुन–कुन व्यक्ति समावेश थिए भन्ने कुराको पुष्टि भएको छैन । यसको साथै नेपाल र भारतबीचको सीमा विवाद चरम अवस्थामा रहेको अवस्थामा चिनियाँ राजदूतले नेपालको सत्तारुढ दलको विभिन्न नेताहरुलाई घरमा नै गएर भेट्ने कार्य त्यस्तोबेलामा भएको छ, जतिबेला नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा संवादहिनताको अवस्था विद्यमान छ भने अर्काे तिर सत्तारुढ दल नेकपा आन्तरिक विवादको गाढारुपमा फसेको छ ।

भारतले नेपालको नयाँ नक्सा जारी गरेको कूटनीतिक नोट पठाएर नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेकामा राजनीतिक तथा प्रशासनिक नक्सा गरेर संवैधानिक मान्यता दिएकोमा आपत्ति जनाएको थियो । भारतले नेपालको भूमि अतिक्रमण गरी भारतीय नक्सा जारी गर्दा नेपालले तीनपटक कूटनीतिक नोट पठाएर आपत्ति व्यक्त गर्दा केही जवाफ नदिएको भारत यसपटक कूटनीतिक नोट पठाउनुपनि महत्वका साथ हेरिएको छ । भारतीय सञ्चार माध्यममा नेपाल सरकार र नेपालको प्रधानमन्त्री को अनेक टिकाटिप्पणी र विरोध भईरहेको अवस्था रहेको छ । यस्तो अवस्थामा नेपालको परराष्ट्रमार्फत राजदूतावास वा ‘टू ट्रयाक डिप्लोमेसी’मार्फत आफ्नो कुराहरुलाई प्रष्ट गरेर कुटनीतिक कुशलता र क्षमता प्रस्तुत गर्नुपर्नेमा नेपाल असफल गरेको छ । खाली भारतीय सञ्चार माध्यमलाई गाली मात्र नगरी उनीहरुलाई आफ्नो तथ्यहरु राखेर नेपालको समर्थन नगरेतापनि विरोध गर्नबाट रोक्नुपर्ने कूटनीतिको कार्य हो भन्ने कुरा बिर्सिएको जस्तो देखिन्छ ।

नेपालले भारतलाई वार्तामा बस्न नेपाललाई माया गर्नेहरु त्यहाँका बामपन्थी , अन्य दल तथा व्यक्तिहरुलाई आफनो पक्षमा दबाब सिर्जना गर्न अभ्यास गर्न पूर्णत असफल भएको छ । यसले गर्दा नेपाल, कूटनीतिलाई खेलाइची र उत्तेजनाको रुपमा, चुट्कीलाको रुपमा जुनैस्तरको व्यक्तिले पनि आफ्नो मर्यादा र जिम्मेवारीविपरित सुन्दै नसुनी एकोहोरो काम गर्ने गर्ने माइकको रुपमा मात्र फेरिएको देखिन्छ । कूटनीति कुनै स्पीकरबाट बोल्ने माइक होइन भन्ने कुरा बिर्सिएको जस्तो देखिन्छ । नेपालले कूटनीतिलाई खेलाइचीको रुपमा हेरेकोले गर्दा नै हाल परराष्ट्रमन्त्रालयमा जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बन्न सकिने प्रावधान राखी प्रस्ताव राखेको छ ।

परराष्ट्र संयन्त्रमा द्विपक्षीयर बहुपक्षीय कूटनीतिका अनेक मामलाहरुमा विज्ञहरु हुँदाहुँदैपनि त कतिपय क्षिद्रदेखा परिरहेको अवस्थामा अन्य सेवाबाट खुरुखुरु परराष्ट्र सचिव बन्ने प्रबन्ध ल्याउनुले गर्दा परराष्ट्र मन्त्रालय तथा कूटनीतिलाई कति हलुका र खेलाइची ढंगमा लिएको छ भन्ने प्रष्ट देखा परेको छ । परराष्ट्र मन्त्रालयलाई सुधार गर्नुपर्छ भनि २०६७ देखि सातवटा प्रतिवेदन आईसकेको अवस्था र राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय साखसँग जोडिएको परराष्ट्र जस्तो संवेदनशील मन्त्रालयमा विषय र सरोकारका ज्ञाता नरहेको आफ्नो नजिकको व्यक्ति जो सुकैलार्ई टिपेर पनि प्रमुख बनाउने विषय कूटनीतिको लागि घातक शिद्ध हुनसक्ने छ । नेपालको भूराजनीतिक स्थितिले गर्दा दुई शक्ति राज्यको बीचमा रहेको, अमेरिकी र युरोपेलीको समेत चासो बढेको नेपालमा कूटनीतिलाई सामान्य रुपमा लिनु नेपालको लागि घातक शिद्ध हुनसक्नेतर्फ ध्यान दिनु आवश्यक छ । जो कोहीलाई पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिएर, नेपालले आफ्नो आन्तरिक कुराहरु आफैले मिलाउन सक्छ भन्ने क्षमता प्रदर्शन गर्नुपर्ने कुरालाई औल्याउन पुगेको छ ।

प्रतिकृया दिनुहोस्