News Portal

नवलपरासीमा थप ११ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

डबली संवाददाता२०७७ असार ३१ गते
११९ पटक

काठमाडौँ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले बुधबार दिएको जानकारीअनुसार सबैभन्दा धेरै नवलपरासी जिल्लामा भेटिएका छन् । नयाँ संक्रमित पाँच जिल्लाका हुन् ।

शर्माका अनुसार संक्रमितहरुमा पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २२८ पुगेको छ ।

पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिकामा एक महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कावासोती नगरपालिकामा ४८ र २६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी म्याग्दीको बेनीमा ३, मालिकामा ४, रघुगंगामा १ र मंगलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको भिमादमा २ र आँबुखैरीनीमा १ जनामा कोरोना पुष्टि भएको छ । गोरखाका एकजना नयाँ संक्रमित गोरखा नगरपालिकाका र कास्कीको पोखरा उपमहानगरपालिकामा थप एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

हिजो मंगलबार नेपालमा थप ११६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको जानकारी दिएको थियो ।

त्यसैगरी मंगलबार केही दिनयताको भन्दा निकै कमले मात्रै कोरोना जितेका थिए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३४ जनाले कोरोना जितेर घर फर्केका थिए ।

मंगलबारसम्म कोरोना जित्नेको संख्या १० हजार ३ सय २८ पुगेको थियो । त्यस्तै, संक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ९५ रहेको थियो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको थियो ।

त्यस्तै नेपालमा पहिलो पटक सांसदलाई कोरोना संक्रमण पनि मंगलबार नै भएको थियो । नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कर्णालीमा समुदायमा कोरोना पुगेको आशंका ग‍रिएको छ ।

प्रतिकृया दिनुहोस्