News Portal

ओलीको चिन्तन प्रणाली स्वस्थ देखिन्न, छाडा छोड्नु खतरनाक हुनेछः भट्टराई

डबली संवाददाता२०७७ असार ३० गते
२७१ पटक

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन्तन प्रणाली स्वस्थ नभएको आरोप लगाएका छन् । सोमबार ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भट्टराईले सो आरोप लगाएका हुन् ।

ओलीको उक्त अभिव्यक्तिलाई दिएर भारत र नेपालमा चर्को विरोध भइरहेको बेला भट्टराईले समाजिक संजालमा सो आरोप लगाएका हुन् । भट्टराईले ओलीको वचनकर्मले सीमा नाघ्दै गएको भन्दै छाडा छोड्न नहुने समेत बताए । प्रधानमन्त्री ओलीले राम नेपाली नै भएको र अयोध्या नेपालमै भएको भन्दै तथ्यहरुमाथि समेत भारतले अतिक्रमण गरेको बताएका थिए ।

ओलीले भानु जयन्तीको अबसरमा मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै राम र अयोध्याबारे दिएको अभिव्यक्तिपछि भट्टराईको यो दोस्रो टिप्पणी हो । पहिलो ट्विटमा भट्टराईले ब्याँग्य गर्दै “नयाँ रामायण श्रवण गरौँ ।”

त्यसपछि सामाजिक संजालमा ओलीको आलोचना हुने क्रम बढेसँगै भट्टराईले दोस्रो पटक ट्वीटरमा अति गरे खति हुने भन्दै सिंहमेव जयते र बेसारदेखि अयोध्यासम्म आउँदा चिन्तन प्रणाली स्वास्थ नभएको भन्दै उपचार खोजौं भने । डा. भट्टराईले लेखेका थिए “अति गरे खति हुन्छ भन्छन् ! प्रमका वचनरकर्मले सीमा नाघ्दैछन् । संसदमा ‘सिंहमेव जयते’र बेसार–पुराणदेखि अयोध्या्–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश रसंकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !”

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भारतमा मात्रै होइन नेपालमा पनि खैलाबैला मच्चिएको छ । भारतीय मिडियाले फेरि मसला पाए । भारतीय जनता पार्टीले त खण्डन मात्रै गरेको छैन, राम र अयोध्याबारे कसैलाई बोल्ने अधिकार नभएको भाजपाले चेतावनी समेत दिएको छ ।

यसैबीच नेपालमा राजनीतिकर्मीदेखि पत्रकारहरुले पनि ओलीको भनाईप्रति आलोचना गरेका छन् । ओलीको पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले त भारतीय मिडियासँग प्रतिस्पर्धा गरेको बताए । पार्टीका युवा नेता विष्णु रिजालले पनि ओलीको आलोचना गरेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै “प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन” भन्दै ट्वीट गरेका छन् ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले “धर्म राजनीति र कूटनीतिभन्दा ममाथि छ । यो निकै भावनात्मक विषय हो । बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ । अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ? (नेकपा)को विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट एकपछि अर्को यस्तो अभिव्यक्ति आउनु रहस्यमय रहेको ट्वीट गरेका छन् ।

“पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ” रिजालले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्