News Portal

कोरोना नियन्त्रण बाहिरः २४ घण्टामा अमेरिकामा ३४ र भारतमा १७ हजार नयाँ संक्रमित

डबली संवाददाता२०७७ असार ११ गते
१५८ पटक

काठमाडौं । अमेरिका र भारतले कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा राख्न सकेका छैनन् । अन्य देशमा ओरालो लागेपनि भारत र अमेरिकामा भने अझै उकालोतिर तीब्र रुपमा लम्किरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३४ र भारतमा १७ हजार बढी नागरिक संक्रमित भएका छन् । विवरणअनुसार अमेरिकामा ३४ हजार ७२० नयाँ संक्रमित थपिएका छन् ।

जारी आन्दोलनले पनि कोरोना फैलिएको समाचारमा बताइएको छ । पछिल्लो विवरणअनुसार क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा सबैभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको हो । अमेरिकामा संत्रमितको संख्या २४ लाख ६२ हजार ७०८ पुगेको छ भने मृतकको संख्या १ लाख २४ हजार ३ सय पुगेको छ ।

पछिल्लो समय अमेरिकाका २६ राज्यमा कोरोना भाइरस तीब्र रुपमा फैलिरहेको छ । यसैबीच अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जुलाई १८ सम्म अमेरिकामा कोरनो भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार देखि एक लाख ५० हजारसम्म पुग्ने चेतावनी दिएको छ ।

त्यसैगरी भारतमा पनि कोरोना तीब्र गतिमा फैलिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट करिब १७ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन् ।

केही समय पहिलेबाट संक्रमितको सूचीमा चौथो नम्बरमा रहेको भारतमा संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनको संख्या १४ हजार ८९४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्