News Portal

कोरोनाका कारण नेपलामा २४ जनाको ज्यान गयो, संक्रमितको संख्यामा नयाँ रेकर्ड

डबली संवाददाता२०७७ असार १० गते
१८९ पटक

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण २४ जनाले ज्यान गएको छ । दैलेखका ४५ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख दुल्लु–३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ज्यान गएको हो । कोरोनाको आशंका जेठ ३ गते स्वाव संकलन गरी परीक्षण गरिएको थियो भने असार ४ गते कोरोना पुष्टि भएको थियो । उनको उपचार गर्दागर्दै सोमबार ज्यान गएको थियो ।

त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार संक्रमितको संख्या १० हजार नाघेको छ । मंगलबार थप ५ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको थियो ।

बुधबार विहानै थप गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, बागलुङ ९, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

बागलुङको बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने स्याङ्जाका अर्जुनचौपारी गाउँपालिकामा १ जना, आँधीखोला गाउँपालिकामा १ जना र वालिङ नगरपालिका ३० महिने बालिकासहित ५ जना, लम्जुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेंशिशहर नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकामा २ महिला र एक पुरुष गरी ३ जना र मादी गाउँपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा समेत कोरोना संक्रमण देखिएको डा. शर्माले जानकारी दिए । नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी मंगलबार थप ७६ जनाले कोरोनासँग जितेका छन् । योसँगै कोरोनासँग जित्नेको संख्या २ हजार २ सय २४ पुगेको छ । प्रवक्ता गौतमले दिएको जानकारीअनुसार मंगलबारसम्म ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्