
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । सोमबार ७४ महिला र ४६१ जना पुरुषमा कोरोना संक्रमण भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस ७६ जिल्लामा पुगेको छ । बागमती प्रदेशको रसुवा जिल्ला मात्रै कोरोनाबाट मुक्त रहेको छ ।
यसैगरी पाल्पाको एकै क्वारेन्टिमा एक दिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना परीक्षणको लाथि २८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउँन बाँकी छ ।
पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार १३९ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको छ । सोमबारसम्म आइपुग्दा पाल्पामा संक्रमितको संख्या १७६ पुगेको छ ।
केही दिनदेखि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको कर्णालीमा भने सोमबार २६ जनामा संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो ।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेको छन् । त्यसैगरी सर्खेतका संक्रमितहरु भेरीगंगा नगरपालिकाका ११ जना पुरुष, वीरेन्द्रनगर नगरपालिका ५ महिला र बराहताल गाउँपालिकाका २ जना पुरुष, सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका पुरुष हुन् । यस्तै दैलेखका एक महिला र दुई पुरुष नारायणनगरपालिकाका हुन् ।कर्णालीमा योसँगै संक्रमितको संख्या १२८२ पुगेको छ ।
