
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमा संक्रमण भएको पुष्टि भएको छ ।
अस्पतालमा उपचार गराइरहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि ४२ जना स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु सबै उपचारमा संलग्न थिए । जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालको निर्देशक डा. डम्बर खड्काका अनुसार क्वारेन्टाइनमा राखिएका ४२ जनामध्ये पाँच जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको छ ।
जेठ महिनामा दैलेखका एक जना र सुर्खेतका एक जना बिरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेका थियो । तीमध्ये दैलेखबाट आएका एक जना बिरामी क्षयरोगी थिए भने दैलेखका एक जना र सुर्खेतका एक जनाले विष सेवन गरेका कारण उनीहरुलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो ।
