News Portal

ठूला १० मिडियालाई पत्रकार महासंघको एकहप्ते अल्टिमेटम पत्र

डबली संवाददाता२०७७ असार ४ गते 
१४७ पटक

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर, अन्नपूर्ण पाेष्ट, माउन्टेन टिभीलगायतका १० वटा ठुला सञ्चारगृहहरुमा पत्रकार महासंघले विहीवार एकहप्ते अल्टिमेटम पत्र बुझाएकाे छ । पत्रकार तथा कर्मचारीहरुलाई जबर्जस्त निष्काशन गर्ने, बेतलवी बिदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्ने र काम गर्ने वातावरण नदिने १० सञ्चारगृहलाई महासंघले हप्तादिनभित्र समस्या सल्टाउन अन्यथा आन्दाेलनमा जान बाध्य हुने व्यहाेरा पत्रमा उल्लेख छ । महासंघकाे मंगलबार बसेकाे बैठककाे निर्णय अनुरुप समस्याग्रस्त सञ्चारगृहमा एकहप्ते अल्टिमेटम पत्र बुझाइएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।

गत मंगलवारकाे निर्णयअनुसार महासंघले विभिन्न सञ्चार सम्वद्ध संघ/संस्थाकाे नेतृत्व एव श्रमजीवी पत्रकारमैत्री निकाय र संगठनसहित महासंघका प्रतिष्ठान एवं उपत्यका प्रदेश समितिका कार्यसमितिसँग पनि आन्दाेलनकाे तयारीबारे छलफल भइरहेकाे छ । महासचिव रमेश विष्टकाे नेतृत्वकाे एक टाेलीले ठूला भनिएका मिडियामा काम गर्ने पत्रकारकाे अवस्थाबारे अध्ययन गरि यसै साता रिपाेर्ट पनि सार्वजनिक गरेकाे थियाे ।

साेही रिपाेर्टका आधारमा गत मंगलवारकाे उपलब्ध केन्द्रीय समिति बैठकले पत्रकार तथा कर्मचारीलाई जबर्जस्त निष्काशन गर्ने, न्युनतम पारिश्रमिक लागू नगर्ने, राजिनामा दिन दवाव दिने, काेराेनाकाे बहानामा पेशाबाटै निकाल्ने मिडियाहाउसकाे लिष्ट तयार गरेकाे महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।

यता न्यूनतम पारिश्रमिक निर्धारण समिति, प्रेस रजिस्ट्रार तथा प्रेस काउन्सिलबाट पनि श्रमजीवी पत्रकारलाई दु:ख दिने सञ्चारगृहलाई कानुनी दवाव दिन र आवश्यक परेमा सरकारले उपलब्ध गराउँदै आएकाे सेवासुविधा राेक्का गर्नका लागि तयारी पनि गरिरहेकाे सञ्चार मन्त्रालय श्राेतले बतायाे ।

यता कानुनी लडाईलाई पनि प्रभावकारी बनाउन पीडित पत्रकार तथा कर्मचारीहरुलाई प्रेस रजिस्ट्रारमा उजुरी दिन लगाउनेदेखि मिडिया हाउसहरुलाई ऐन विपरित कदम नचाल्न दवावसहितकाे पत्राचार पनि सरकारका निकायहरुबाट भइरहेकाे बुझिएकाे छ

प्रतिकृया दिनुहोस्