
कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको एक क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएका १४ जनाको अवस्था सामान्य छ । सान्नी त्रिवेणी गाउँपालिकाको शंकर मावि क्वारेन्टाइनमा बसेकामध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि गर्दै गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
अध्यक्ष शाहीका अनुसार उक्त क्वारेन्टाइनमा बसेका ९० मध्ये १४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने बाँकी सबैमा नेगेटिभ । कोरोना नेगेटिभ देखिएका तर क्वारेन्टाइन अवधि पूरा नभएका १६ जना बाहेक अरु सबैलाई डिस्चार्ज गरिएको छ । उनीहरुको स्वाब संकलन गरी पिसीआरबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर गएको अध्यक्ष शाहीले बताए । उनीहरु सबै भारतबाट गाउँ फर्केको अध्यक्ष शाहीले बताए ।
अहिले शंकर मावि क्वारेन्टाइनलाई अहिले आइसोलेशनमा परिणित गरिएको अध्यक्ष शाहीले जानकारी दिए । संक्रमित १४ जनालाई सोही आइसोलेशनमा राखिएको बताउँदै अध्यक्ष शाहीले भने, ”अहिले क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरेका छौं, उहाँहरुको सबैको अवस्था सामान्य छ । हामीसँग भएको साधन स्रोतबाट निगरानी गरिएको छौं ।’
अध्यक्ष शाहीका अनुसार गाउँपालिकाका विभिन्न वडाका गरी ६७५ जना कामको लागि भारत गएको र अहिलेसम्म३५० जना फर्किसकेका छन् । उनीहरुमध्ये पछिल्लो चरणमा आएका ३२ जनाको विहीबारसम्म पिसीआर परीक्षण हुन बाँकी छ । अध्यक्ष शाहीले उनिहरुको पनि छिट्टै परीक्षण गर्ने तयारी भइरहेको बताए ।
