
काठमाडौं । अमेरिकी सहयोग परियोजना परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेजीको माग गर्दै दश दलीय मोर्चाले मंगलबार विरोधसभा सम्पन्न भएको छ । दश दलीय मोर्चाले एमसीसी खारेज नगरे देशभर संघर्ष चर्काउने बताएका छन् । मंगलबार काठमाडौँको माइतीघर मण्डलमा आयोजना गरिएको विरोध सभामा बोल्दै नेताहरुले सो कुरा बताएका हुन् ।
एमसीसी अमेरिकाको सैन्य परियोजना भएको बताउँदै बक्ताहरुले सम्झौता सदनबाट पास भए नेपाल अमेरिकाको सैन्य गठबन्धनको सदस्य बन्न पुग्ने र नेपाल अमेरिकाको कठपुतली देशमा परिणत बताए । उनीहरु एमसीसी सम्झौता खारेज गर्नुपर्ने जोडदार हुनुपर्नेमा जोड दिए ।
विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, नेकपा (माले) का पिबिएम सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्मर कार्की, नेकपा (माओवादी–केन्द्र) का उपाध्यक्ष तिलक थापा मगर, नेकपाका केन्द्रीय उपाध्यक्ष लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का नारायण थापा र राष्ट्रिय जनजागरण परिषद्का सुधीर कर्माचार्य लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा दश दलीय मोर्चाले घोषणा गरेको एमसीसी खारेजीको संघर्षमा विभिन्न संघ संस्था तथा संगठनरुले ऐक्यबता जाहेर गरेका छन् । एमसीसी खारेज अभियानका आरसी न्यौपाने, नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) का भावना विद्रोही, हाम्रो पार्टी नेपालमा ब्रह्माण्ड, पुष्पलाल अध्ययन समाज काठमाडौँका बोर्णबहादुर कार्की र युवा विद्यार्थी अभियानका घाइते निरज नवीन, नेपाल राष्ट्रियता तथा जनअभियान संरक्षण मञ्च र एमसीसी खारेज युवा विद्यार्थी अभियानलगायतले ऐक्यबद्धता प्रकट गरेका थिए ।
मोर्चामा नेकपा (क्रान्तिकारीमाओवादी), नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, राष्ट्रिय जनगागरण परिषद् र नेकपा (संयुक्त) सहभागी छन् ।
- फोटोः जय दाहाल
