News Portal

देशद्रोही प्रस्ताव फिर्ता नलिए सरिता गिरीलाई भोलि नै कारवाही हुन्छः सह-अध्यक्ष श्रेष्ठ (भिडियोसहित)

डबली संवाददाता२०७७ जेठ ३० गते
६१७ पटक

काठमाडौं । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले शनिबार हुने निशान छाप सम्बन्धिको मतदान अघि नै सांसद सरिता गिरीले देश विरोधी प्रस्ताव फिर्ता नलिए उनलाई भोलि नै कारवाही हुने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका श्रेष्ठले पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियामार्फत पार्टीले आधिकारिकरुपमै सांसद गिरीको देशद्रोही प्रश्ताव फिर्ता लिन निर्देशन दिएको बताउँदै भने,“राष्ट्रियताको निम्ति सिंगो देश एकजुट भएको बेला हाम्रो पार्टीकी गिरी जी लगायत केही मानिसहरुले राष्ट्रियता विरोधी हर्कत सच्याउन तयार नभए तत्काल कारवाही हुनु पर्छ ।”

श्रेष्ठले शुक्रबार संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै कसैलाई पनि देशको विरुद्धमा बोल्ने अधिकार नभएको र सच्चिने मौका दिदा पनि नसच्चिए कुनैपनि किसिमको छुट दिन नहुनेसमेत बताए ।

नेता श्रेष्ठले आजै आफ्नो पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको पनि बताए । जसपा नेपालको शुक्रबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको पनि जानकारी दिए । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको थियो । यसअघि तत्कालिन राजपा नेपालको संसदीय दलले आफूहरुको माग अनुसार प्याकेजमै संविधान संशोधन नभए सरकारले ल्याएको संशोधन विधेयकको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो ।

अर्कोतिर समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी छिन् । तर समाजवादी पार्टीको संसदीय दलले सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको छ । यसरी लिपुलेक,कालापानी र लिम्पियाधुराका विषयमा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला पनि सरिता  गिरीकै पथमा भएको, तर देशद्रोही हर्कत गर्ने कोइरालालाई उनको पार्टीलेसमेत केही नभनेकोप्रति ब्यापक विरोध पनि भएको छ ।

प्रतिकृया दिनुहोस्