News Portal

नेपालमा ८६१ जनाले कोरोनासँग जिते, संक्रमितको संख्या ४ हजार ६५१ पुग्यो, विहानै थपिए ३७ जना

डबली संवाददाता२०७७ जेठ ३० गते
१२९ पटक

काठमाडौँ । नेपालमा कोरोना भाइरससँग जित्नेको संख्या दिनदिनै थपिँदै छ । विहीबारसम्म निको भएर घर फर्किनेको संख्या ८ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप १८७ जना निको भएर डिस्चार्ज भएका छन् ।

त्यसैगरी विहीबार थप २५० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या संख्या ४६ सय १४ पुगेको छ । शुक्रबार विहानै फेरि गण्डकी प्रदेशमा ३७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ हजार ६५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विहीबार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका थिए ।

त्यसैगरीसप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७–७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४र४ जना, झापा र सुनसरीका ३–३ जना तथा कपिलवस्तु र बझाङका २–२ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै शुक्रबार विहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारीअनुसार स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

त्यसैगरी कोरोनाबाट नेपालमा १६ जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य कार्यालय भैरवा पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले संचारकर्मीलाई दिएको जानकारीअनुसार जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

बुटवलमा उपचार गराएर फर्किने क्रममा ती पुरुषको मृत्यु भएको थियो । जिल्लामा उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उपचार गरेर फर्किने क्रममा उनको मृत्यु भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

यसैबीच भारतबाट नेपाल फर्किने बेला सीमामा मृत्यु भएका युवामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार भारतको सोनौली नाकमा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका (साविकको कुडिया ७) का ३५ वर्षीय युवाको मृत्यु भएको थियो । उनी मुम्बईबाट नेपालीको एक समूह बसमा सोनौली नाका आइपुगेको थियो।

रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले संचारकर्मीलाई मृतक युवामा कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनको शव व्यस्थापन भारतमै हुने अधिकारी बताए ।

युवकको मृत्यु भएपछि मुम्बईबाट उनी सँगै आएका उनका भिनाजु र सालो एम्बुलेन्समा शवसहित जिल्ला अस्पताल महाराजगंजसम्म गएका थिए। उनीहरुको नाम नेपाल आउने सूचीमा रहेको कारण उनीहरु महाराजगंजबाट सीमामा पुगेर नेपाल भित्रिएका छन्। युवक आएको बसमा ४० जना नेपाली सवार थिए। सबै स्वदेश आइसकेका छन्।

प्रतिकृया दिनुहोस्