News Portal

पत्रकार कडेललाई दिइएको धम्कीप्रति महासंघको घोर निन्दा, दोषीलाई कारवाहीको माग

डबली संवाददाता२०७७ जेठ २८ गते
४३३ पटक

धनगढी । समाचारको विषयलाई लिएर पत्रकार टंक कडेललाई दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघले निन्द तथा भत्सर्ना गरेको छ । महासंघको कैलाली शाखाले बुधबार एक विज्ञप्ति जारी गरेर समाचारको विषयलाई लिएर धम्की दिनु स्वतन्त्र प्रेसमाथिको धावा भएको भन्दै महासंघ दोषीलाई कारवाहीको माग गरेको छ ।

महासंघका सचिव मिन ठकुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “समाचारको विषयलाई लिएर पत्रकार टंक कडेललाई दिईएको धम्कीको नेपाल पत्रकार महासंघ घोर भत्सर्ना एवं निन्दा गर्दछ । प्रकाशन र प्रशारण भएको समाचारप्रति विमती भए त्यसको कानुनी कारवाहीका लागि अन्य बाटो हुँदाहुँदै पत्रकारलाई टेलिफोनाट धम्की दिनुलाई महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संचार क्षेत्रमाथि धावा बोलिएको घटनाको रुपमा दिएको छ । त्यसैले पत्रकार कडेलको सुरक्षामा ध्यान पुर्याउने र धम्की दिनलाई कानुनी दायरामा ल्याउनको लागि पत्रकार महासंघ स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ ।”

अनलाइन डबलीमा कार्यरत पत्रकार कडेलले कैलालीको घोडाघोडी नगरपालिकाको नीति तथा कार्यक्रम सुझाव संकन गर्ने जिम्मा एनजिओललाई दिएका र प्रदेश पूर्वाधारको १० लाख बजेटमा नाली निर्माण मापदण्ड विपरित भएको स्थानीयले गरेको विरोधलाई समाचार लेखेका थिए । त्यही समाचारलाई लिएर उनलाई धम्की आएको हो ।

महासंघले घोडाघोडी नगरपालिका १ का व्यापारी होमप्रसाद आचार्य मंगलबार राति मोबाइल नम्बर ९८८०३५३३८ बाट फोन गरी धम्की दिएको बताएको छ ।

त्यसैगरी कोरोना महामारीको बिसम परिस्थितिमा समेत आम नागरिकलाई सु–सूचित गर्न सक्रिय आम पत्रकारलाई हतोत्साहित गर्न खोज्ने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधि नगर्न महासंघले सचेत गराएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ रेडियो मिर्मिरे प्रतिष्ठानका अध्यक्ष राजाराम बोहराले पनि विज्ञप्ति जारी गरेर प्रतिष्ठान सचिव समेत रहेका पत्रकार कडेललाई धम्की दिइएको घटनाको निन्दा गरेका छन् ।

“नेपाल पत्रकार महासंघका सदस्य तथा यस प्रतिस्ठानका सचिव श्री टंक कडेललाई समाचार लेखेको विषयमा धम्की आएकोप्रति ध्यानाकर्षण भएको छ । अनलाइन डबली डटकममा कार्यरत पत्रकार कडेलले लेखेको समाचारलाई लिएर धम्की दिनु अत्यन्तै निन्दनीय कार्य हो र प्रतिस्ठान उक्त कार्यको घोर भत्सर्ना गर्दछ” बोहराले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी अध्यक्ष बोहराले समाचारमा चित्त नबुझ्दा कानुनी प्रक्रियामा जाने माध्यम हुँदाहुँदै पनि धम्की दिनु प्रेस जगतमाथिकै हस्तक्षेप भएको बताउँदै दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् । “पत्रकार कडेलमाथिको धम्की स्वतन्त्र र निष्पक्ष पत्रकारिताको घाटी निमोठ्ने नियतले आएको छ । यस घटनाको छानविन गरी दोषीलाई कारवाहीको लागि स्थानीय प्रशासनसँग अनुरोध पनि गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

प्रतिकृया दिनुहोस्