News Portal

कोरोनासँग लड्न ट्रम्प बाइबल बाड्दै, मोदी-ओली दियो बाल्दै तर डा. दासले बनाए ९ प्रकारका औषधि

सामाचार टिप्पणी २०७७ जेठ २५ गते
३२६ पटक

काठमाडौँ । आजसम्म आइपुग्दा विश्वमा कोरोना भाइरसका कारण ४ लाख २ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७० लाख पुगेको छ । जसमा निको हुनेको संख्या ३४ लाख नाघेको छ । कोरोनाले अझै कतिको ज्यान लिने हो भन्न सकिने अवस्था छैन । नेपालसहित विश्वको अधिकांश देशहरुमा बल्ल महामारीको रुप लिँदैछ ।

विश्वका शक्तिशाली र विकसित मानिँदै अएका अमेरिका, बेलायत, ब्राजिल, स्पेनलगायतका देशहरु पनि कोरोनासँग पराजय भइरहेका छन् । आफ्नो नागरिक कोरोनाले चिहान भरिएका हेर्न विवश छन् शासकहरु । उनीहरु भगवानको भर पर्नुपर्ने अवस्थामा आएको छ ।

कोरोनासँग लड्ने भरपर्दो उपाय अहिलेसम्म पत्ता लागेको छैन । चीन, क्युबालगायतका देशहरुले कोरोनाबाट आक्रान्त बनेका देशहरुमा सहयोग गर्दै औषधि उत्पादनमा लागि परेका छन् । कोरोना प्राकृति रोग वा कृतिम जे भएपनि यससँग लड्न सक्ने वैज्ञानिक विधि नै हो । तर, अमेरिका, भारतलगायतका आणविक शक्ति सम्पन्न देशहरुका शासकहरु पूजा गरेर र बाइबलको पाठ गरेर कोरोना भगाउन लागेको देख्दा नागरिक निरास छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चा खोलेर यशूसँग प्रार्थना गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् । उनले विश्वास यशूमा छ, धार्मिक विश्वास हुनु अर्कै कुरा हो तर कोरोनालाई यशूले भगाउँछन् भन्नु मूर्खता बाहेक अरु केही होइन । त्यसैगरी बैशाख २७ गते ट्रम्पले हिन्दू पूजारीलाई ह्वाइट हाउसमै बोलाएर पूजापाठ गरे । अमेरिकाकै न्युजर्सीको बीएपीएस स्वामीनारायण मन्दिरका पूजारी हरीश व्रह्मभट्टले संस्कृतका श्लोक पढ्दै सहभागिहरूलाई पाठ गराएका थिए । कोरोना भाइरसको महामारीसँग लड्न शक्ति प्राप्त गर्न ट्रम्पले पूजा गरेका थिए । सो अवसरमा ट्रम्पले खुलेर अमेरिकाले हरेक प्रकारका चुनौतिलाई सँग लड्न ईश्वरीय शक्तिमा भरोसा राख्दै आएको बताए ।

त्यसको केही समय पछि जेठ ९ गते फेरि राष्ट्रपति ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताए । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा खोलेर प्रार्थना गर्न भनेका थिए । उनले प्रान्तका गर्भनरहरुले स्वास्थ्य संस्था खुला गरेर चर्चहरु बन्द गरेको भन्दै आलोचना समेत गरे । ट्रम्पले पटकपटक गर्भनरहरुलाई चर्च खोल्न दवाव दिँदै आएका छन् । जबकी भिडभाडले कोरोना फैलिने कुरा पुष्टि भइसकेको छ ।

यता भारतमा कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले चैत्र २१ गते भिडियो सन्देशमार्फत दीप प्रज्वलन गरेर, धुप बालेर, शंख बजाएर, थाल ठटाएर कोरोना भगाउन देशबासीलाई आह्वान गरे । मोदीले अप्रिल ५ को साँझ ९ मिनेटसम्म बिजुली बत्ती बन्द गरेर कोरोना भगाउन दीप बालेर थाली ठटाउने, शंख फुक्न भने ।

त्यसैको नक्कल गर्दै नेपालमा पनि गरियो । बैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले २५ गते साँझ भारतमाझैं गरी दीप प्रज्वलन गरेर कोरोना भगाउँदै लड्न शक्तिको दीप बालियो । प्रधानमन्त्री ओलीले बालुवाटारमै दीप बालेर कोरोनालाई भागभाग भने । वैज्ञानिक विधिलाई छोडेर दीप बालेर, थाल ठटाएर, शंख फुकेर, बाइबल पढेर कोरोनासँग लड्ने शक्ति प्राप्त हुन्छ वा भगाउन सकिन्छ भन्ने विश्वास राख्ने शासकहरुकै कारण दिनप्रतिदिन हजारौं मानिसहरुको मृत्यु भइरहेको छ । वैज्ञानिक विधिमा विश्वास गर्ने चीनलगायतका देशहरुले कोरोनासँग जितेको उदाहरण हाम्रै अगाडि छ ।

नेपालका शासकहरु पनि ट्रम्प र मोदीकै बाटोमा हिडिरहेको बेला नेपालमा जडिबुटीबाट कोरोनाविरुद्धको औषधि बनाउमा व्यस्त थिए त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दास । रसायन शास्त्रका प्राध्यापक दास कोरोना नेपालमा पनि फैलिँदै गर्दा कसरी रोक्न सकिन्छ भन्नेमा चिन्ताका साथ खोजमा लागेका थिए । हाम्रै वरीपरि भएका वनस्पतिबाटै कोरोनाविरुद्धको औषधि बनाउन सकिन्छ भन्ने विश्वासका साथ दास लागे । पहिला कोरोना भाइरसको अध्ययन गरेपछि त्यसको प्रभावलाई कसरी निष्कृय बनाउने भन्ने पत्ता लागेको बताउँन् दास ।

देशका विज्ञ तथा वैज्ञानिकहरुलाई सरकारले कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्नेमा अध्ययन गर्न लगाउनु पथ्र्यो तर अहिलेसम्म त्यतातिर सोचेको पनि देखिँदैन । तर, दासले व्यक्तिगत रुपमा सुरु गरेको कामलाई बागमती प्रदेश सरकारले साथ दिनु राम्रो हो । अहिले प्रदेश सरकारकै समन्वयमा दासले औषधिको परीक्षण सुरु गरेका छन् । दासले ९ प्रकारका औषधि तयार गरेका छन् । ६ प्रकारका औषधि संक्रमण रोक्ने र ३ प्रकारका औषधिले संक्रमणपछि रोगका निदानको प्रयोग गरिने बताए । ९ प्रकारकै औषधिका प्रयोगले कोरोना पूर्ण रुपमा निको हुने दासको दाबी छ ।

दासले बनाएको औषधिबारे अहिले विश्वमा चर्चा भएको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालसँग आशा गरेको छ । अहिले नेपालमा बनेको औषधिबारे विश्वासका ७० भन्दा बढी देशहरुमा चर्चा भइरहेको छ ।

चीनले तयार गरेको भ्याक्सिन मानिसहरुमा परीक्षण सुरु गरिएको र राम्रो प्रतिक्रिया आइरहेको बताइएको छ भने अमेरिकी राष्ट्रपतिले पनि भ्याक्सिन तयार भएको दाबी गरिरहेका छन् । उनले यसअघि पनि औषधि तयार भएको भन्दै औलोको औषधि सेवन गर्न लगाएका थिए । त्यसले केही व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । यति बेला पनि उनको दाबीलाई विश्वास गर्न सकिने अवस्था छैन ।

कोरोनाबाट नागरिकलाई बचाउन नसकेपछि शासकहरुले भाग्यवादतिर मोड्दैछन् । आफ्नो कमजोरीविरुद्ध  नागरिकले विद्रोह नगरुन भनेर भाग्यको खेल हो भन्ने मानसिकता बनाउन प्रयास गरिरहेका छन् । नागरिकको जीवनभन्दा शासकहरुलाई सत्ता र कुर्सी ठूलो हुन्छ, कुर्सीलाई कसरी मजबुत बनाउने भन्ने पहिलो प्राथमिकता हुन्छ भन्ने कुरा कोरोना संकटले छर्लङ पारेको छ । जस्तोसुकै संकटमा पनि पुँजीवादले नाफा खोज्छ भन्ने कुरा नेपाल सरकारलाई हेरे पुग्छ ।

संकट समाधानका उपाय पत्ता लाग्नु शासकहरुको लागि सुखद् हुँदैन । डा. दासले तयार गरेको औषधि पनि नेपाली शासकहरुको लागि सुखद् नहुन सक्छ किनभने त्यही औषधि विदेशबाट ल्याउँदा कमिसन कुरा हुन्छ । डा. दसले जति चिन्ता राज्यले गरेको भए कोरोनासँग लड्ने औषधि तयार भइसक्थ्यो कि ? नेपालमा विषयका विज्ञ र वैज्ञानिकको कमी छैन तर राज्यले योजनाबद्ध रुपमा काममा खटाउँदैन ।

वैज्ञानिक विधिबाट तयार गरिने औषसधि नै कोरोनासँग लड्ने हतियार हुनेछ । त्यसको लागि डा. दासजस्ता दर्जनौं विज्ञ तथा वैज्ञानिकहरुलाई कोरोनाविरोधी अभियानमा परिचालन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्