News Portal

‘हेलिकोप्टरमा हुने खर्चलाई कोरोना परीक्षणमा लगाउ, स्वस्थलाई मात्र गाउँ पठाउ’

‘बौद्ध पीसीआर परिक्षणमा आएको आरोपको कुनै आधार छैन, पुष्टि गर्न अनुरोध गर्छु’

डबली संवाददाता२०७७ जेठ १७ गते
५४६ पटक

काठमाडौं । प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले हुम्लालगायतका विकट जिल्लाहरुमा कोरोना संक्रमणको आशंका भएकाहरुको हेलिकोप्टरबाट स्वाब संकलन महंगो पर्ने भएकाले परीक्षण गरेरै मात्र सम्बन्धित जिल्ला पठाउनुपर्ने बताएका छन् ।

सांसद लामाले केही हप्ता अगाडी नाम्खा गाउँपालिकामा आरडीटी परीक्षणबाट कोरोना संक्रमित देखिएपछि हेलिकोप्टरमा ती मानिसहरुको स्वाब संकलन गर्दा भएको खर्चको उदाहरण दिँदै भने,“हुम्ला-डोल्पा जस्ता जिल्लाको बस-गाडी वा एम्बुलेन्स भनेकै हेलिकोप्टर हो, जसको विकल्प छैन र महंगो पनि छ, त्यसैले शहरबाटै पीसीआर टेष्ट गरेर मात्रै गाउँ पठाउ भन्ने हो ।” उनले सोही योजनाअनुसार बिहिबार बौद्धमा भएको कोरोना परीक्षण सम्बन्धि बाहिर भइरहेका अनपेक्षित टिकाटिप्पणीको कुनै अर्थ नरहेको भनाई पनि राखेका छन् । शनिबार अनलाइन डबलीसँग कुरा गर्दै हवाइजहाजबाट हुम्ला जाने मानिसलाई पीसीआर जाँचको रिर्पोट अनिवार्य भएकोले सो प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।

हुम्ला जिल्लाबाट स्वतन्त्र उम्मेदवारबाट बिजयी सांसद लामाले नेपालमा कोरोना भाइरसको संक्रमितहरुको संख्यामा बृद्धि हुँदै जाने र दुई महिनादेखिको लकडाउनको दायरा खुम्चिने भन्दा बढ्ने भएकोले शहरका जनता कोरोना मुक्त भएर गाउँ जानु पर्ने बताए । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान पीसीआर रिपोर्ट अनिवार्य हुनु पर्ने व्यवस्था गरिसकेको सन्दर्भमा हुम्ला जस्तो भौगोलिक विकट र दुर्गम जिल्लामा जाने यात्रुको लागि झनै उत्तम हुने धारणा राखे ।

एकातिर स्वस्थ्य मानिस मात्रै जिल्ला प्रवेश गर्न पाउने, जसले गर्दा अरुलाई संक्रमणको खतरा नहुने हुन्छ भने, अर्कोतिर संक्रमितहरुको हेलिकोप्टरबाट स्वाब संकलन गर्न निकै महंगो हुने भएको भन्दै त्यसको खर्च परिक्षणमा लगाउनु पर्ने बताए । बिहिबार बौद्धमा सुरु गरिएको परीक्षण नमुना परीक्षणकारुपमा रहेको र त्यसलाई विस्तार गर्नुपर्ने बताए । साथै सामाजिक सञ्जाल र केही मिडियामा अएको ‘आफन्त तथा आफ्नो पार्टीका मानिसको परीक्षण’ भन्ने कुरा झूट भएको बताउँदै उनले भने,“माथिल्लो हुम्ला जसलाई मुगु वा बाजुरा हुँदै आउन टाढा हुन्छ, उहाँहरुलाई अनिवार्यरुपमा हवाइजहाज चढ्नुपर्छ, चालकले पीसीआर नभई हुन्न भन्छ के सबै मेरा नाताका या पार्टीका हुनसक्छ त ?”

सो आरोप मिथ्या भएको बताउँदै अगाडी प्रश्न गर्छन्, जनताले उनिहरुकै काम गर्न चुनेका हुन्, फेरि संकटमा मानवियताको हिसाबले पनि त काम गर्नुपर्ने हुन्छ नि, अनि यस्तो बेला पनि राजनीतिक कुरा गरेर हुन्छ र ? सांसद लामाले बौद्ध पीसीआर परीक्षणमा आएको आरोपको कुनै आधार पनि नभएको र त्यसलाई पुष्टि गर्न अनुरोध गर्दै भने,“बेकारको आरोप लगाएका छन्,स्वच्छ र पवित्र मनले जनताको सेवा गर्न खोजेको हो, त्यसमा कुनै पनि किसीमको स्वार्थ छैन, यदि कसैलाई त्यस्तो लागेको छ भने पुष्टि गरियोस्, म सच्चिन तयार छु, हैन भने जनताले मुल्याङकन गर्लान् नि ।”

डाक्टर मंगल रावल र कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री दल रावलको विषयमा पनि अनावश्यक कथा बनाइएको बताउँदै उनले भने,“डा.मंगल काठमाडौं आउनुभएको बेला यो उचित समय हुन्छ भनेर उहासँग सल्लाह र सहयोग लिएको हो र मन्त्री रावलजीलाई त यो विषयमा केही थाहा पनि छैन होला ।”

प्रतिकृया दिनुहोस्