
काठमाडौँ । दाङमा ८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालले शुक्रबार ८ जनालाई डिस्चार्ज गरेको छ ।
दाङको गढवा गाउँपालिकाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जनाले कोरोनासँग जितका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले उनीहरुलाई विदाई गरेकी थिइन् ।
संक्रमितहरुको दुई पटकसम्म स्वाब जाँद गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुलाई जेठ २ गते अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको थियो ।
उक्त अस्पतालमा अझै ३७ जना संक्रमितको उपचार भइरहेको छ ।
यो संगै पाँच नं. प्रदेशमा निको भएर घर फर्किनेको संख्या ४६ पुगेको छ भने देशभर कोरोना जित्नेको संख्या १९६ पुगेको छ ।
उता रौतहटमा भने आज थप ५६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
संक्रमितहरु राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जना रहेका छन् । योसँगै रौतहट मात्रै संक्रमितको संख्या १८१ पुगेको छ ।
