News Portal

कोरोना आतंकबीच मुस्लिम समुदाय घरबाटै ईद मनाउँदै, कोरोनासँग जित्‍न शुभकामना

डबली संवाददाता२०७७ जेठ १२ गते
२३९ पटक

काठमाडौं । विश्वभर कोरोना आतंकबीच आज मुस्लिम समुदायको इदुलफित्र (ईद)मनाउँदैछन् । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी ईद मनाउँदै आएका छन् ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।
मुस्लिम समुदायले सामाजिक दूरी कायमय गर्दै फरक फरक क्षेत्रमा फरक दिन पर्ने ईद मनाइरेका छन् । इस्लाम परम्पराअनुसार आज अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने गरिन्छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने(खुवाउने चलन छ ।

ईदको दिन मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ तर यो वर्ष कोरोना आतंकका कारण घरमै बसेर ईद मनाइरहेका छन् ।

यसैबीच सरकारले सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, दलका नेताहरुले ईदका अबसरमा शुभकामना दिएका छन् । यो वर्षको शुभकामना कोरोनासँग लड्न शक्ति पैदा होस् भन्ने छ ।

प्रतिकृया दिनुहोस्