News Portal

उपत्यकाका सबै नाका सिल, सामुहिक राहत-खाना वितरण पनि रोक

डबली संवाददाता२०७७ जेठ ८ गते
६८९ पटक

काठमाडौं । सरकारले उपत्यकाका सबै नाका सिल गर्ने भएको छ । अब लकडाउनको अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गरेको छ ।

यो निर्णय कार्यान्वयन गर्न गृहमन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिसँग भएको छलफलपछि मन्त्रिस्तरिय निर्णय गर्दै गृहमले नाका सिल गर्न निर्देशन दिएको हो ।
जेठ १ गते उपत्यका नगरपालिका फोरमका पदाधिकारी, नाकासँग

जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहित बैठकले नाका सिल गर्ने निष्कर्ष निकालेको थियो ।

गृहले जारी गरेको परिपत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न भन्नुको साथै लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।

नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टाइन बनाउने गृहले निर्देशन दिएको छ । तर, क्वारेन्टाइनमा बस्नेहरुले आफ्नो खर्च आफै भुक्तानी गर्ने गरी व्यवस्थापन गर्न समेत गृहमले भनेको छ । त्यसको लागि प्रशासन कार्यालयसँग समन्वय गर्न समेत भनिएको छ ।

सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्न समेत गृहले भनेको छ

त्यसैगरी काठमाडौँ प्रवेश गर्नलाई आरडिटी रिपोर्ट अनिवार्य चाहिने समेत गृहले भनेको छ । त्यस्तै संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएको भन्दै रोक्न गृहले भनेको छ । स्थानीय तहसँग समन्व गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि पत्रमा भनिएको छ ।

 

प्रतिकृया दिनुहोस्