
बुटवल । नेपालमा पहिलो पटक कोरोनाबाट शिक्षकको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको विहीबार मृत्यु भएको प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्ति निकाले पुष्टि गरेका छन् ।
मन्त्री बरालले उनको मृत्युले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको बताएका छन् । भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ती पुरुष देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
सुरुमा स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा अर्घाखाँचीको एक मेडिकलमा चेक गरिएको थियो । थप उपचारको लागि क्रिमशन अस्पताल भर्ना गरिएपछि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ १ गते उनलाई अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।
ति पुरुषको बुधबार नै मृत्यु भइसकेको भएपनि अस्पतालले ढाटेको परिवारले आरोप लगाएका छन् । अस्पताल स्रोतले बुधबार नै मृत्यु भएको बताएपछि अनलाइन डबलीले समाचार प्रकाशित गरेको थियो । पछि दिउँसो अस्पतालले मृत्यु नभएको भन्दै निकालेको थियो । तर, विहीबार मृत्यु भएको बताएको बुटवलका संचारकर्मीले दाबी गरेका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोकमा सुस्तकेरी महिला र बाँकेमा एक युवकको मृत्यु भइसकेको छ ।
