
काठमाडौं । नेपालको नयाँ नक्सा सरकारले पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठके नेपालीभूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको हो ।
भारतले नेपालीभूमि मिचेर सडक बनाएपछि सरकारलाई नक्सा सार्वजनिक गर्न चौतर्फी दवाव बढेको थियो । त्यसअघि भारतले नेपालीभूमि समेटेर नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यसविरुद्ध आन्दोलन भएको थियो । नेपालको पनि नयाँ राजनीतिक नक्सा जारी गर्न सरकारलाई संसदीय समितिले पनि निर्देशन दिएको थियो । तर,सरकारले सुने नसुनेको गर्दै आएको थियो ।
अहिले चीनको सीमा जोड्न सडक नै खनेपछि भने सरकारमाथि ठूलो नैतिक दवाव सिर्जना भएको थियो । सरकारले सीमा विवादबारे छलफल गर्न भन्दै भारत सरकारलाई कुटनीतिक नोट पठाएको थियो । तर, भारतले त्यसलाई कुनै वास्ता गरेको थिएन् ।
यसैबीच सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि नै तयार भएको नेपालको नयाँ नक्सालाई पारित गरेको हो ।
जेठ २ गते संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो ।
त्यहीअनुसार सरकारले सोमबार नयाँ नक्सा जारी गर्ने निर्णय गरेको छ ।
