News Portal

नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु, धुलिखेल अस्पताल सिल

डबली संवाददाता२०७७ जेठ ३ गते
३७६ पटक

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएकी महिलामा कोरोना संक्रमण भएको देखिएको छ ।

अस्पतालका अनुसार बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएकी महिलालाई बचाउन नसकेको अस्पतालले बताएको छ ।

धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार कोरोनाको लक्षण देखिएकी ति महिलाको स्वाब परीक्षण गर्दा शनिबार विहान रिपोर्ट पोजेटिभ आएको थियो । थप यकिन गर्न नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाइएको छ ।

बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो ।

धुलिखेल प्रयोशालामा पिसीआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । काठमाडौँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण नेगेटिभ नआए उनी नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो हुनेछन् ।

अहिले धुलिखेल अस्पतालमा उच्च सकर्तता अपनाइएको छ । इमरजेन्सी सिल गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्