News Portal

वर्तमान व्यवस्था र नेतृत्व असफलताका १० उदाहरण

महादीप पोखरेल
५७२ पटक

२००७ देखि २०६२/०६३ सम्म नेपालमा राजनैतिक ब्यबस्था परिवर्तनका अनेकन आन्दोलन भए र अनेकन राजनैतिक परिबर्तन पनि भए । बिशेषगरी ०६२/०६३ को परिवर्तन पछि निकै आशा र भरोसा पलाएको थियो, तर त्यसपछि पनि देश घुमीफिरी पुरानो असफल संसदीय ब्यबस्थाकै चपेटामा पर्यो । विगतदेखि वर्तमानसम्म देखे–भोगेको १० वटा यथार्थहरु पेश गरेको छु ।

१. क्रान्ति नायकहरु सत्तामा पुगे, अनि देश र जनताको आर्थिक, सामाजिक, सांस्कृतिक भलो गर्लान भनेको त आफ्नै बर्ग परिवर्तन गरे, नायकबाट खलनायकमा पतन भए ।

२. पद, पावर, भागबन्डा आदिमा राजनैतिक पार्टीहरुमा जतिसुकै झगडा भएपनि ठूल्ठूला भ्रष्टाचार घटनाहरुमा र राष्ट्रघातका मामिलामा अचम्मको शासकीय एकता देखियो ।

३. देशमा सरकारलाई आलोचना गर्ने, सुझाव दिनसक्ने बाताबरण छैन । अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देजको अभ्यास मात्र होइन राजनैतिक पार्टीलाई प्रतिबन्ध,जेलनेल र गैरन्यायिक हत्यासम्म हुन थालेको छ । अहिले पनि राजनैतिक आस्थाका आधारमा र सामाजिक संजालमा लेखे बापत मुद्दा र जेलनेलमा मान्छेहरु कोचिएका छन् ।

४. राष्ट्रिय अस्मितामा चोट पुग्ने एमसीसीजस्ता घातक परियोजना स्वीकृत गराउनका निम्ति अनेकन हर्कतहरु अझै भइरहेका छन् । देशले असंग्लन परराष्ट्र नीतिको ट्र्याक छोड्दैछ ।

५. हाम्रो भूमिको रक्षा गर्न नेपाल सरकार असफल हुँदै गएको छ । देश झनै खुम्चिँदै गएको छ । सरकारको कुटनैतिक क्षमता रत्तिभर छैन । अतिक्रमण र भारतीय मिचाह प्रवृत्तिको बिरोध गर्न बन्देज छ । नागरिकहरुले लाठी र हिरासतको पुरस्कार पाएका छन् । आजको दिनसम्म आउँदा चिनको भूमिका पनि हाम्रो राष्ट्रिय अस्मिताको हकमा शंकास्पद हुँदै गएको छ ।

६. अझै पनि देशका उत्पीडित जाती, क्षेत्र, लिङ्ग र वर्गले परिवर्तनको असल परिणाम भोग्न पाएका छैनन् तर सत्तामा बस्नेहरुलाई मात्र ऐस छ ।

७. देशको अर्थ ब्यबस्था, शिक्षा, स्वास्थ्य, जमिन पूरै माफिया–दलाल र बिचौलियाहरुको कब्जामा छ । सरकार समाजवादको झुटो नारा दिन छोड्दैन् । प्राकृतिक श्रोत साधनको अत्याधिक दोहन भइरहेको छ । देश मरुभूमिकरणतर्फ अगाडि बढिरहेको हेक्का नै छैन । किसान, मजदुरहरुको जीवनस्तर उकासिएको छैन । आफ्नो उत्पादन र श्रमको उचित मुल्य पाएका छैनन् । उनिहरु रोग र ऋणले थलिएका छन् ।

८. देशमा आइपरेको कुनैपनी प्राकृतिक प्रकोप र महामारीको संकटको क्षति कम गर्न र असल ब्यबस्थापन गर्न राज्य असफल हुँदै गएको छ

९. देशको ठूलो युवा हिस्सा वैदेशिक रोजगारीमा छ । अब कोरोना कहर सँगसँगै युवाहरु स्वदेश फर्कदै छन् । उनिहरुलाई सहभागी गराउनको निम्ति कुनैपनि उत्पादना र रोजगारीको योजना राज्यसँग छैन ।

१०. देशभित्र सत्ता वा कुनै निर्दिष्ट पार्टी समर्थकहरुको यस्तो खतरनाक पाल्तु झुण्डहरु तयार गरिएको छ, सरकारको आलोचना र गलत कामको भण्डाफोर गर्ने जोसुकैलाई जहाँसुकै आक्रमण, गालीगलौच जे पनि गर्न सक्छन् ।मानौ उनिहरुलाई कानुन लाग्दैन । राइट म्यान, राइट पोजिसन छैन । राज्यका महत्वपूर्ण अंगहरुमा लठैत र नातागोताले भरिएका छन् र उनिहरुको उद्देश्य ‘लुट कान्छा लुट’ भन्दा अर्को छैन ।
यहाँनेर एउटा कुरा अत्यन्त महत्वपूर्ण छ, कुन कारणले नेपालमा यति बिघ्न वैदेशिक हस्तक्षेप छ र नेताहरू उनिहरुको अगाडि लुत्रुक्क पर्छन् ? यस कारण हो (२००७ देखि ०६२/०६३ सम्मकै हरेक राजनैतिक परिवर्तनमा जनताले जतिसुकै बलिदान र सहभागिता जनाए पनि यसका सहजकर्ता बिदेशीहरु थिए । आन्दोलनको निर्णायक घडीमा उनिहरु नै हर्ताकर्ता भए ,अनि आफ्नै हितमा निर्णय गराए । परिवर्तन पछिको फाइदा पनि बिदेशीहरुले नै लिइरहेका छन् ।

नेपालका नेताहरू दलाल र जनतालाई रैती बनाउन सफल भएका छन् । के यसैको निम्ति २००७ देखि ०६२/०६३ सम्म अनेकन आन्दोलन भएर नेपालीले रगत र पसिना बगाएका हुन् ? सहिद, अपांग र बेपत्ता भएका हुन् ? यी सबै बिसंगतीको उपचार अब के हुन सक्छ ? खराब व्यवस्था हो कि नेतृत्वहरु हुन्, अथवा यी दुबै खराब छन् ? मेरो विचारमा अहिलेको यो व्यवस्था र नेतृत्व पुस्ता पनि पूर्ण असफल मात्र होइन देश र जनताको निम्ति घातकसिद्ध हुँदै गएको छ । यी सबै बिषयहरु हामीले पुनः मनन् गर्नपर्ने समय हो यो ।

प्रतिकृया दिनुहोस्