News Portal

लकडाउनको ५२ औं दिनः उपत्यकामा १० जनामा कोरोना संक्रमण, प्रवेश नाकामा कडाई

डबली संवाददाता२०७७ जेठ १ गते
३०४ पटक

काठमाडौं । आज कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनका ५२ औं दिन । पछिल्ला पटक कोरोनामुक्त भएको उपत्यकामा फेरि आज एक जनामा कोरोना संक्रमण देखिएको छ ।

विहीबार साँझ काठमाडौँमा थप एक जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ भने भक्तपुरमा यसअघि २ जनामा देखिएको थियो ।

योसँगै उपत्यकामा संक्रमितको संख्या १० पुगेको छ । तर, अहिलेसम्म ललितपुर सुरक्षित छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले राति ८ः३० बजे काठमाडौं दहचोकका सात वर्षीय बालकसहित तीन जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् ।

अधिकारीका अनुसार जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको अधिकारीले विज्ञप्तिमार्फत जानरकारी दिएका छन् । उनीहरु सबै चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

यसैबीच कोरोनाको जोखिम बढेसँगै  काठमाडौं उपत्यका प्रवेशमा कडाई गरिएको छ । विहीबार नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा बादललाई उपत्यकाको आवत जावतमा कडाइ गर्न माग गरेका छन् ।

गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन वटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका पालिकाका प्रमुखको संयुक्त बैठकमा नाकामा कडाई गर्न सुझाव दिएका छन् । योसँगै सरकारले उपत्यका प्रवेशमा कडाई गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्