News Portal

  • लिपुलेकमा भारतीय सडकः सरकारको लम्पसार र लाचारीपन, काँडेतार लगाउनुपर्छः नायक खड्का

    डबली संवाददाता
    ६६७ पटक

    भारतले नेपालीभूमि मिचेर चीनसँग जोड्ने सडक नै बनाएपछि सडकदेखि सदनसम्म विरोध भइरहेको छ । पूर्वप्रधानमन्त्रीदेखि नेताहरुले काँडेतार लगाउनु पर्ने कुरा उठाएका छन् । जनताले काँडेतारको माग गरेपनि अहिलेजति ठूलो स्वरमा पहिलो पटक उठेको छ ।

    सीमामा काँडेतार लगाउनु पर्छ भन्दै नायक नवल खड्काले अभियान सुरु गरेका छन् । राष्ट्रवादी नायकको रुपमा परिचय बनाएका खड्काले काँडेतार अभियान सुरु गर्दैगर्दा कतिपयले हाँसोको रुपमा लिएका थिए । सीमानामा काँडेतारको माग यतिधेरै उठ्ला भन्ने धेरैलाई विश्वास थिएन तरपनि खड्काले आफ्नो चलचित्रको नाम नै ‘काँडेतार’ राखे । चलचित्रको कथाबस्तु तयार भएर छायांकनको तयारी भइरहेको थियो । अहिले लकडाउनका कारण रोकिएको छ ।

    सडकदेखि सदनसम्म काँडेतार लगाउनुपर्ने माग जोडका साथ उठेको छ । हामीले काँडेतारको सुरुवाती अभियान्ता खड्कासँग छोटो कुराकानी गरेका छौंः

    सीमामा काँडेतारको माग अहिले सडकदेखि सदनसम्म लागेको छ, सुरुवाती दिनलाई कसरी सम्झिनुहुन्छ ?

    सीमा क्षेत्रमा भारतले बारम्बार हुने अपराधिक गतिविधिदेखि सीमा मिच्ने घटनाले छाति पोलिरहन्थ्यो । ती घटनालाई आम जनतामाझ ल्याउन हामीले ‘दशगजा’ चलचित्र पनि निर्माण गर्यौ । चलचित्र छायांकनको क्रममा पनि भारतको दादागिरी देखियो । चलचित्र निर्माण गर्दैगर्दा नेताहरुले सीमाको अवस्थामा देखेर भारतसँग जस्तो कदम चाल्लान भन्ने सोचिएको थियो त्यो भएन नै तरपनि जागर ल्यायो ।

    भारतले सीमा क्षेत्रमा गर्ने ज्यादति रोक्न काँडेतार नै उपयुक्त भएको भन्ने लाग्यो । केही साथीहरुसँग छलफल गरेर अभियान सुरु गरेका थियौं । सुरुमा हामीसँग छोरै मात्रै साथीहरु जोडिनुभयो । शुरूवाती अभियानकर्ताको नाताले भन्नु पर्दा, सीमाक्षेत्रमा बारम्बार हुने अपराधिक गतिविधिदेखि सिमाना मिच्ने दिनहुँ घट्ने घटनाक्रमले नै हामीलाई यस अभियानमा लाग्न अभिप्रेरित गरेको थियो । अहिले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, (नेकपा)का नेता देव गुरुङले पनि काँडेतार लगाउने कुरा गर्नुभएको छ । नेताहरुले नै यो महशुस गरेकोमा खुशी लागेको छ ।

    तपाईंले उठाएको काँडेतार अभियान सार्थकता बढेर गएको हो ?

    सिमानामा काँडेतार अभियानको सार्थकता थियो र नै यो अभियानमा सहभाीता बढिरहेको थियो । शुरूवाती अभियानकर्ताको नाताले भन्नु पर्दा, सीमा क्षेत्रमा बारम्बार हुने अपराधिक गतिविधिदेखि सिमाना मिच्ने दिनहुँ घट्ने घटनाक्रमले नै हामीलाई यस अभियानमा लाग्न अभिप्रेरित गरेका थिए । अहिले नेतादेखि सुरक्षाकर्मीसम्म पुगेका छ ।

    भारतले लिपुलेकमा गरेको पछिल्लो अतिक्रमणले काँडेतारको आवश्यकता भन् बढेर गएको छ । हामी नागरिकले त पहिलेनै काँडेतारको माग गरेका थियौँ । तर, अहिले नेताहरुले पनि त्यो मुद्दालाई स्वीकार गर्नुभएको छ । त्यसकारण यो अब हाम्रो मात्र मुद्दामात्र बनेन जवरजस्त राष्ट्रिय मुद्दाको रूपम स्थापित भएको छ । ढिलो चाँडो एक दिन सीमानामा काँडेतार लाग्नेछ ।

    लिपुलेकमा बनाईएको सडकलाई कसरी लिनु भएको छ ?

    यो भारतीय बिस्तारवादी नीति र हेपाहा तथा मिचाहा प्रवृत्ति हो । यसै प्रवृत्तिले भारतले हाम्रा सीमा मिच्ने र सीमा क्षेत्रका जनतालाई बारबार दुःख दिने गरिरहेको छ । यतिले मात्र नपुगेर नेपाल सरकार र नेपाली जनताले ऐतिहासिक प्रमाणका आधारमा आफ्नो भूमि भनिरहेका स्थानमा बाटो नै बनाउनु साना मुलुकलाई आक्रमण गरेजस्तै हो । यसबाट मेरो मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीको आत्मसम्मानमा चोट लागेको छ ।

    सरकारले थाहा पाएर पनि नरोक्नु भित्री के हो कारण ?

    निश्चय नै वर्तमान सरकारको कमजोरी हो तर यस सरकारको मात्र होइन । यो समस्याको जरो खोज्दा राजा महेन्द्रकै पालादेखिबाट खोज्नुपर्छ । तथापी पञ्चायतको अन्त्यपछि स्वर्गबासी प्रेमसिंह धामीले कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई नेपाली जनताबीच जानकारीमा ल्याउनु भएको थियो । त्यसपछि यसबारे जनताले र कम्युनिस्ट पार्टीका विद्यार्थी र युवाहरुले त्यहाँ पुगी सांकेतिक विरोध गरेका थिए । तरपनि सरकार कहिल्यै गम्भीर भएन । जबजब जनताहरु सडकमा विरोध गर्थे तबतब सरकार र प्रतिपक्ष दलका नेताहरुले कर्मकाण्डीजस्तै भएर विरोध जनाउने गर्दथे । त्यो अहिले पनि जारी छ । भारत सरकारले नेताहरुको मुटु छाम्दै सडक निर्माण गरिरहेको थियो। एक हिसावले यो म्याच फिक्सिङनै जस्तो पनि लाग्छ । हामी जनतासँगै विरोध गरेजस्तै गर्छौं तपाईंहरु बनाउँदै गरे हुन्छ भनेजस्तो लाग्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छाप्ने मात्र होइन पूरै लिम्पियाधुरासहितको नेपालको भूमि ल्याउने हो भनेर पनि पहल नगर्नुको कारण के हो ? यो कुरा प्रष्ट हुन बाँकी नै छ । तर प्रष्ट भएको कुरा के हो भने यसो हुनुमा सरकारको निस्क्रियतामात्र होइन, लम्पसारवादी नीति हो । यो विभिन्न कालदेखिँकै सरकारहरूको कुटनैतिक असक्षमता, लाचारिपन, दलालिपन हो ।

    अब के गर्नै ?

    यसबारे म सँग कुनै त्यस्तो प्रष्ट जवाफ छैन । तर म प्रष्ट छु कि हामी भारतसँग लडाइँ गरेर भूमि फिर्ता गर्न सक्दैनौं । विदेश मामलाका जानकारहरुले विभिन्न विकल्पहरु ल्याइरहनु भएको छ । कुटनैतिक पहल गर्ने, दुईपक्ष, त्रिपक्ष (चीन, भारत र नेपाल) सँग वार्ता गर्ने यतिले पनि नभए अन्तर्राष्ट्रिय अदालत जाने आदि गर्नुपर्छ । जे भएपनि भारतले यस क्षेत्रमा गरेको हस्तक्षेप तुरुन्तै समाधान हुन नसक्ने अवस्था देखिन्छ । यसका लागि हामीले प्रमाणका साथ लामो कुटनैतिक अभियान जारी राख्नु पर्छ । तर मौसमी बाजा बजाएर होइन, यो निरन्तर अभियान हो । यसका साथै अन्य खुला सीमानामा काँडेतार लगाउने कार्यलाई अगाडि बढाउनु पर्छ ।

    प्रतिकृया दिनुहोस्