News Portal

लकडाउनको ५० औं दिनः उपत्यकामा ३ सहित एकैदिन ८३ जनामा कोरोना, कर्फ्यूदेखि जिल्ला निषेध

डबली संवाददाता२०७७ बैशाख ३१ गते
३२५ पटक

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको आज ५० औं दिन । आजसम्मकै धेरै एकै दिन ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दिउँसो ५७ जना र साँझ थप २६ जनामा संक्रमित भएका छन् ।

केही दिनदेखि कोरोनामुक्त भएको उपत्यकामा आज फेरि तीन जनामा संक्रमण देखिएको छ । भक्तपुरमा दुई र अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले मंगलबार राति १०ः१५ बजे विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको भने काठमाडौंमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष र धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दिउँसो मात्रै पत्रकारसहित ५७ संक्रमित भएको पुष्टि भएको थियो । पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना गरी ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । पर्साका संक्रमित चारजना पत्रकार पनि छन् ।
आजै भारतबाट नेपालीलाई पठाउने प्रक्रिया पनि सुरु भएको छ । उत्तर प्रदेशमा रहेका नेपालीलाई पठाउने तयारी गर्न मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फर्किन चाहने नेपालीलाई पठाउने तयारी गर्न निर्देशन दिएका छन् ।

लकडाउनको ५० औं दिन पुग्दा आजै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान पनि प्रतिबन्ध लगाएको छ । उक्त निर्णय विहीबारबाट लागु हुनेछ । उपत्यकामा भने लागु हुने छैन । बैंक तथा वित्तिय संसथाको लागि गरिएको खुकुलो पनि कडा हुने भएको छ । सरकारी पासबिना हिड्न पाएनेछैन ।

५० औं दिनसम्म आइपुग्दा सबैभन्दा धेरै संक्रमित पर्सामा ८२ जना पुगेका छन् । त्यसैगरी दोस्रोमा उदयपुर ३२, कपिलबस्तु २९ र बाँकेमा २४ जना संक्रमित भएको छन् । त्यसैगरी रुपन्देहीमा १६ जना काठमाडौँमा ६,कैलाली ४ जना, रौतहट ३ जन, बागलुङमा २, झापा २, भक्तपुर २ जना, कञ्चनपुर १, बर्दियामा १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बारा ३, धनुषा ३ सप्तरी १ जना संक्रमित भएको पुष्टि भएको छ ।

यूएईले नेपालीलाई फिर्ता पठाउने तयारी पनि थालेको छ । नेपालमा पनि कोरोनाले महामारीको रुप लिने प्रष्ट भएको छ । सबैले सतर्कता अपनाउन जरुरी छ ।

प्रतिकृया दिनुहोस्