News Portal

  • लिपुलेक अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेपछि नेकपाद्वारा संघर्षको घोषणा

    डबली संवाददाता२०७७ बैशाख २७ गते
    ४११ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपालीभूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेर राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गरेको भन्दै आन्दोलनको घोषणा गरेको । पार्टीका अन्तर्राष्ट्रिय ब्यूरो इन्चार्ज कञ्चनले शनिबार विज्ञप्ति जारी गरेर भारतले दिनप्रतिदिन सीमा मिचिँदा पनि सरकार मुखदर्शक बनेर नेपाललाई दिनप्रतिदिन पराधिन बनाएको बताएका छन् ।

    कञ्चनले भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडक निर्माण गरेर सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका आएको बताए । भारतले नेपालीभूमि मिच्दै चीनसँग जोड्ने सडक निर्माण गरेर सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि हमला गरेको बताउँदै कञ्चनले उक्त हर्कतको भत्सर्ना गरेका छन् ।

    “यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको समाचार प्रकाशनमा आएको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

    नेपालको सार्वभौमिकताको सम्मान गर्न माग गर्दै विज्ञप्तिमा उक्त कार्यबाट भरत पछि नहटे राष्ट्रिय स्वाधिनताको संघर्ष गर्ने चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, “त्यस क्षेत्रबाट भारतीय हर्कत पूर्ण रूपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग गर्दछ । साथै त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको सङ्घर्ष गर्ने चेतावनी दिन चाहन्छौँ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रूपमा प्रकट भएको छ ।”

    भारतले बाटो बनाउन उक्त क्षेत्रलाई भारतीय नक्सामा सामेल गर्दा र नेपाली सीमा मिचिँदा पनि मुकदर्शक बनेको भन्दै नपुंसक दलाल पुँजीवादी सत्ता अन्त्यको लागि संघर्षमा उठ्न सबैलाई अपील समेत नेकपाले गरेको छ । “नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू ठाउँठाउँमा मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन पराधीन बनाउन लागेको छ । यस्तो नपुंसक, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीमा हार्दिक अपिल गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

    भारतले नेपालको भूभाग हडप्ने प्रक्रियामा परोक्ष–अपरोक्ष सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई नेकपालाई अपील समेत गरेको छ । त्यसैगरी नेपकाले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायहरुको ध्यानाकर्षण समेत गराउँदै विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादले हमला गरेको मामिलामा संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय निकायहरूलाई ध्यान पुर्याउन पनि हाम्रो पार्टी आग्रह गर्दछ ।”

     

    प्रतिकृया दिनुहोस्