News Portal

लकडाउन कविताः म पनि चुप लागेर बस्‍ने थिएँ

३९३ पटक

यस्तो महासंकटमा पनि

सरकारमा बस्नेहरुले कमिसन नघिचेको भए

राष्ट्रको नाममा सम्बोधनको बहानामा

भ्रष्टहरुको निम्ति दम्बोधन प्रस्तुत नगरेको भए

गरिब र मजदुरहरु रातदिन सधै

पिल्सिरहन नपरेको र भोको नभएको भए

राहतको नाममा तिमीहरूको नौटङ्कीले

गरिबहरुको मजाक नउडाएको भए

बिदेशीलाई जहाज द्वारा फिर्ता पठाउने

तर सिमनाका नागरिकलाई अलपत्र नपारेको भए

एउटै सरकारले दुईदुई घण्टामा दुईवटा निर्णय गरेर

दुनियाँ हसाउने कार्य नगरेको भए

राष्ट्रबादको बर्को ओढेर

पटकपटक मातृभुमीलाई धोका नदिएको भए

क्रान्तिका नाममा जनताको बली चढाएर

देशमा भ्रान्ती नफैलाएको भए,आफै मात्र सुखी नबनेको भए
सरकार आफैले अपहरण कम्पनीको जस्तो
नाटक नदेखाएको भए
बेमौसमी बाजा नबजाएको भए
महाराज बन्ने ख्वाब नदेखाएको भए

र अन्त्यमा

राजनैतिक आस्था र बिचारको आधारमा

प्रतिबन्ध र कैदी जीबनहरु खोरमा नपरेको भए
बोल्‍ने र लेख्‍नेहरुलाई
खोरमा नकोचेको भए

मित्र तिमीले भनेझैं म पनि

यो बेलामा केही नबोली बस्ने थिएँ

चुपचापले बस्ने थिएँ

आलोचना नगर्ने थिएँ ।

प्रतिकृया दिनुहोस्