
काठमाडौं । एकै दिन तीनजनाले कोरोनासँग जिते घर फर्केका छन् । काठमाडौँमा दुई र कैलालीमा एकजना कोरोनाबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोना पीडित आमा छोरालाई विहीबार पाटन अस्पतालले डिस्चार्ज गरेको छ । ८१ वर्षीय महिला र उनका ५८ वर्षीय छोरा कोरोनाबाट मुक्त भएर घर फर्केका हुन् ।
कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीहरुलाई बैशाख १ गते पाटन अस्पताल भर्ना गरिएको थियो । पुनः परीक्षण गर्दा एकजनलाई कोरोना संक्रमण नभएको देखिएको थियो । उनीहरु चैत्र ५ गते बेलायतबाट नेपाल आएका थिए ।
त्यसैगरी कैलालीमा एक ५० वर्षीय महिलाले पनि कोरोनाबाट मुक्त भएर घर फर्केकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिलालाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विहीबार डिस्चार्ज गरिएको छ । यसअघि सोही नगरपालिकाका एक युवा पनि डिस्चार्ज भइसकेका थिए ।
पर्साको वीरगञ्जबाट कैलाली आएकी ती महिलालाई क्वारेन्टाइन बसाई पछि कोरोना संक्रमण भएको पुष्टी भएपछि अस्पताल भर्ना गरिएको थियो ।
योसँगै नेपालमा निको हुनेको संख्या १० पुगेको छ भने संक्रमितमध्ये ३७ जनाको उपचार भइरहेको छ ।
