काठमाडौं । नेपालमा एकैदिन ११ जना कोरोनाभाइरस संक्रमित भएको पुष्टी भएको छ । उदयपुरमा मंगलबार थप ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रबक्ता डा. समीर कुमार अधिकारीले मंगलबार साँझतिर विज्ञप्ति जारी गरेर उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धराना को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
योसँगै उदयपुरमा संक्रमितको संख्या २४ पुगेको छ । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका बासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेको अधिकारीले जानकारी दिएका छन् ।
