News Portal

  • अध्यादेश बेमौसमी बाँसुरीः देउवा

    २६३ पटक

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका दुईवटा अध्यादेशलाई बेमौसमी बाँसुरी भएको बताएका छन् । देउवाले सोमबार साँझ विज्ञप्ति जारी गरेर अध्यादेश लोकतन्त्र विरोधी भएको बताउँदै तत्काल फिर्ता गर्न माग समेत गरेका छन् ।

    सभापति देउवाले सोमबार साँझ विज्ञप्ति जारी गरेर विश्व एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको बेला यसरी अध्यादेश ल्याउनु सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको प्रमाण भएको बताएका छन् । उनले सरकार नागरिकको जीवन रक्षाको लागि गम्भीर नभएको प्रमाण अध्यादेश भएको बताउँदै बेमौसमी बाँसुरी भएको बताए ।

    “यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो बेमौसमी बाँसुरी हो” देउवाले विज्ञप्ति भनेका छन् ।

    सरकारले सोमबार संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।

    विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु लोकतन्त्रको विरुद्ध भएको काँग्रेसले ठहर गर्दैै फिर्ता गर्न माग गरेको छ ।

    संविधान निर्माण गर्दा राजनीतिक स्थिरता र संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वका लागि गरिएका व्यवस्थाहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको भन्दै देउवाले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका अध्यादे ल्याइएको बताए ।

    प्रतिकृया दिनुहोस्