
काठमाडौं । कोरोना भाइरससँग दुई जित भएका छन् । काठमाडौँकी प्रसिद्धि श्रेष्ठ र बागलुङकी छैटौं कोरोना संक्रमित महिलाले कोरोनासँग जितेकी छन् ।
प्रसिद्धि शनिबार डिस्चार्ज भएर घर फर्किसकेकी छन् भने छैटौं संक्रमित भोलि (आइतबार) घर फर्किने भएकी छन् । नेपालको छैटौं कोरोना संक्रमित ६५ वर्षीया महिलाको शनिबार अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले ति महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेको छ । चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
ती महिला चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । अस्पतालले डिस्चार्ज गरेपछि हातमा फुलको थुङ्गो बोकेर सिमित पत्रकारसँग प्रसिद्धिले अनुभव साटेकी थिइन् ।
शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै चिन्तित बनेका नेपालीलाई शनिबार खुशी भएका छन् ।
नेपालमा दोस्रो संक्रमित प्रसिद्धिको टेकुस्थित शहीद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनको उपचार भएको थियो ।
उनी दुबई हुँदै काठमाडौं आएकी थिइन् । उनलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरेर उपचार गरिएको थियो ।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छिन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
