News Portal

  • इटलीमा कोरोनाका कारण मृत्यु हुने डाक्टरको संख्या १ सय १ पुग्‍यो, भारतमा एकजनाको मृत्यु

    २९१ पटक

    काठमाडौं । कोरोनाभाइरसका कारण उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुकै मृत्यु हुन थालेपछि विश्वभर झन् आतंक सिर्जना भइरहेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको इटलीमा मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या सय नाघेको छ ।

    विहीबारसम्मका विवरणअनुसार इटलीमा मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या एक सय एक पुगेको छ । जसमा डाक्टर, नर्स र उपचार सेवामा खटिएका सहयोगीहरु रहेको स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । कोरोनाभाइरसविरुद्ध अग्रमोर्चा रहेर बिरामीको उपचारमा खटिने क्रममा बलिदान गरेको इटली सरकारले बताएको छ ।

    मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक,जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् ।

    इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना नर्स र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको बताएका छन् । उनीहरुलाई सुरुमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोरोनाका बिरामीको उपचारमा पठाइएको थियो ।

    रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार अझै करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ ।

    यसैबीच भारतको मध्य प्रदेशमा कोरोनाका कारण एकजना डाक्टरको मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

    पञ्जवानीको मृत्यु भएको त्यहाँका मुख्यमन्त्रीले पुष्टी गरेका छन् । मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्मो शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार सुरु गरिएपनि बिहीबार बिहान उनको मृत्यु भएको हो ।

    मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस्