News Portal

  • कोरोना आतंकः चीनभन्दा स्पेनमा मृत्यु हुनेको संख्या बढी, भारतमा १३ पुगे

    २७१ पटक

    काठमाडौँ । विश्वभर कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको छ । युरोप केन्द्र बनाएको कोरोनाका कारण चीनभन्दा स्पेनमा धेरैको मृत्यु भइसकेको छ । बीबीसीका अनुसार स्पेनमा गएको चौबिस घण्टामा ७ सय ३८ जनाको मृत्यु भएको छ । यो संख्या अब ३४ सय पुगेको छ । जबकी ८१ हजार संक्रमित भएर पनि चीनमा ३२ सय ८१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो तथ्यांकअनुसार चीनभन्दा स्पेनमा १ सय ५० जना बढीले ज्यान गुमाएका छन् । स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ । स्पेनका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्याउन मतदान गर्दैछन् ।

    स्पेनमा मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन भने पाउँछन् ।

    यसैबीच कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो ।

    बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् । बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ ।

    भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६ सय ८६ जनामा बिरामी छन् ।

    भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

    प्रतिकृया दिनुहोस्