News Portal

  • चीनबाट नेपाल आइपुग्यो ‘कोरोना भाइरस’, यस्ता हुन्छन् लक्षणहरु

    ४५४ पटक

    काठमाडौं । चीनमा देखिएको ‘कोरोना भाइरस’ नेपालमा आईपुगेको पुष्टि भएको छ । केही दिन पहिले चीनको वुहानमा देखा परेको यो नयाँ रोग डडेलोझैं विश्वभर फैलिरहेको छ ।

    चीनसँग नेपालको सीमा जोडिएको भएपनि अहिलेसम्म यो भाइरस प्रवेश गरेको थिएन । तर, वुहानबाट नेपाल फर्किएकी एकजना नेपाली विद्यार्थीमा यो भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी वुहानबाट फर्किएकी एक विद्यार्थीको टेकुमा स्वास्थ्य परीक्षण गर्दा शंकास्पद देखिएको र उक्त ‘रिपोर्ट’लाई हङकङ पठाइएकोमा हङकङबाट कोरोनाभाइरस पुष्टि भएको जानकारी दिएको छ ।

    संक्रमित युवती उपचारपछि कोरोना भाइरसको लक्षणविहीन बने पनि उनलाई निगरानीमा राख्नुको साथै उनको सम्पर्कमा पुगेका अरु व्यक्तिको खोजी गरी निगरानी गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ । अहिलेसम्म नेपालसहित आधा दर्जन देशहरुमा यो भाइरस प्रवेश गरिसकेको छ ।

    कसरी थाहा पाउने ? 

    सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्नेजस्ता साधारण चिसो, फ्लु वा निमोनिया लागेजस्तो हुन्छ । बिस्तारै यो बढेर बिरामीको मृत्यु हुने गरेको छ । यसको सुरुको लक्षण सामान्य भएकोले मानिसहरुले सामान्य रोगको रुपमा लिने हुँदा गारो हुने गरेको छ ।

    यसको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको बताइएको छ । बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरिएको छ । रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ ।

    अनुसन्धानकर्ताहरूले नयाँ रोगको संक्रमण चीनबाहिर पनि नगन्य मात्रामा रहेको बताएका छन् । उनीहरूकाअनुसार थाइल्यान्डमा दुई र जापान र दक्षिण कोरिया पनि एकरएकजनामा संक्रमण देखिएको छ ।

    माथि उल्लेखित लक्षण देखिए स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरुले अपील गरेका छन् ।

    प्रतिकृया दिनुहोस्