News Portal

अरनिको समाजद्वारा चिनियाँ नववर्ष कार्यक्रमको आयोेजना

४२७ पटक

काठमाडौं । अरनिको समाजले चिनिया नव वर्ष तथा वसन्त उत्सव कार्यक्रम २०२० भव्य रुपमा सम्पन्न गरेको छ । गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख आतिथ्यतामा मंगलबार साँझ काठमाडौं लैनचौरस्थित लैनचौर ब्याङक्वेटमा सो कार्यक्रम सम्पन्न भएको हो । चिनिया नव वर्ष(मुसा वर्ष) को अवसरमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री राम बहादुर थापा बादलले चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएका नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताउँदै उनले भने, “हाम्रो सम्बन्ध प्राचिनकालदेखि नै रहँदै आएको छ भने दिनप्रतिदिन सुदृढ बन्दै गएको छ । गतवर्ष सम्पन्न चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको छ । चीनले नेपालको समृद्धि र राष्ट्रिय सुरक्षामा नेपाललाई सहयोग गर्दै आएको छ । म यो सहयोग र समर्थनको लागि चीन सरकार र चिनिया जनतालाई धन्यवाद दिन्छु ।”

नेपालले हाल लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न नेपालको समृद्धि र विकासमा चिनिया जनता र सरकारले निरन्तर रुपमा सहयोग गर्दै आएकोमा मन्त्री वादलले धन्यवाद व्यक्त गरे । उनले भने “मित्रहरुको पहिचान संकटको वेलामा हुने गर्छ । चीनले वि.सं.२०७२ सालको महाभूकम्पमा सवैभन्दा पहिला आएर सहयोग गरेको थियो ।” साथै उनले विगत ४ दशकदेखि निरन्तर रुपमा नेपाल चीन मैत्रीको विकासमा अरनिको समाजले निर्वाह गर्दै आएको भूमिकाको लागि धन्यवाद व्यक्त गरे ।

चीनका विश्व विद्यालयहरुमा प्राप्त गरेको उच्च ज्ञानलाई अरनिको समाजले नेपाली जनताको हितमा प्रयोग गर्दै नेपालको समृद्धिमा योगदान पुर्याएकोमा समाजका सबै सदस्यहरुलाई गृहमन्त्री वादलले धन्यवाद समेत व्यक्त गरे । सार्थ वहाँले आगामी दिनहरुमा पनि अरनिको समाजले नेपाली जनताको सेवामा काम गर्दै जाने विश्वास व्यक्त गरे । मन्त्री वादलले भन, “नेपालको समृद्धि र विकासमा निरन्तर सहयोग गरिरहने प्रतिवद्धताको लागि चिनिया राजदूत हौ यान्छीलाई विशेष धन्यवाद ज्ञापन गर्दछुु ।” मन्त्री बादलले चिनिया नव वर्ष वसन्त चाडको अवसरमा काठमाडौंस्थित चिनिया राजदूतावासका पदाधिकारीहरु, कार्यक्रममा उपस्थित चिनियाहरु लगायत सम्पूर्ण चिनिया जनताको समृद्धि र प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले चिनिया नव वर्षको अवसरमा अरनिको समाजले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन पाएकोमा हर्षित भएको बताए । राजदूत हौ यान्छीले छुन्चीए अर्थात चिनिया नव वर्ष वसन्त उत्सव चिनियाहरुको महत्वपूर्ण चाड भएको जानकारी दिए । चिनिया नव वर्ष अर्थात वसन्त उत्सव पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्ने तथा पारिवारीक मिलन, सामानजस्य र खुशीयाली साट्ने महत्वपूर्ण घडी भएको समेत जानकारी दिनुहुँदै वहाँले उपस्थित सबैलाई चिनिया नव वर्षको अवसरमा सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरे ।

चीन र नेपालबीचको सम्बन्ध हजारौं वर्ष पुरानो रहेको बताउँदै राजदूत हौ यान्छीले स्वच्छ एवम् सर्वोच्च शिखर सगरमाथा नेपाल चीन मैत्रीको प्रतिक भएको बताए । उनले चीनमा अध्ययन गरि फर्किएका ६ हजार भन्दा बढी नेपाली यूवाहरु दुई देशबीचको शैक्षिक, साँस्कृतिक आदान प्रदानको एक उज्वल पक्ष हुन् । राजदूत हौ यान्छीले भनिन्,“सन् २०१९ साल चीन नेपाल सम्बन्धमा ऐतिहासिक महत्वको वर्ष हो, राष्ट्रपति सी चिन्फिङ्ले नेपालको सफल राजकीय भ्रमणले नेपाल चीन सम्बन्धलाई नयाँ युगमा पुर्याएको छ । दुवै देश शैक्षिक र साँस्कृतिक क्षेत्रको साहकार्यलाई अझ विस्तार गर्ने समझदारीमा पुगेका छन् । चीनले प्रत्येक वर्ष नेपाललाई प्रदान गर्दै आएको १ सय भन्दा बढी सरकारी छात्रवृत्ति वाहेक अरु १ सय वटा कन्फ्युसियस इष्टिच्युट छात्रवृत्ति पनि प्रदान गर्नेछ । हामी जेहन्दार नेपाली युवाहरुलाई चिनिया विश्व विद्यालयहरुमा अध्ययन गरि चीन नेपाल मैत्री सम्बन्धमा टेवा पुर्याउनका लागि स्वागत गर्दछौं ।”

चिनिया राजदूतले नेपाल चीन मित्रतालाई उच्च मूल्यांकन गर्दै भने,ः“यो वर्ष चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सव हो । साथै राष्ट्रपति सी चिन्फिङ्ले नेपाल भ्रमण गर्नु भएपछि भ्रमणपछिका उपलब्धिहरुलाई कार्यान्वयन गर्ने वर्ष पनि हो । नयाँ युगमा नयाँ कार्यहरु हुनु पर्दछ । चीनमा अध्ययन पूरा गरि फर्किनु भएका सम्पूर्ण नेपाली साथीहरुले चीन नेपाल सम्बन्ध विस्तारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने आशा गरेकी छु । तपाईहरुले चिनिया राजदूतावाससँग सम्पर्र्क गर्नुहोला साथै आफ्नो दक्षताको प्रयोग गरि चीन नेपाल दुई देशबीचको जनताको राजदूत बनी चीन नेपाल मित्रतामा अमूल्य योगदान पुर्याउनु होला ।”

अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले चनिया नव वर्ष वसन्त उत्सवको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नु हुँदै सन् १९८१ मा स्थापित अरनिको समाजले विगत ३० वर्षदेखि चिनिया नव वर्ष मनाउदै आएको जानकारी दिनुभयो । कार्य व्यस्तताको कारण स्वदेश फर्कन नपाएका चिनियाहरुलाई चिनिया नव वर्षको अवसरमा निम्तो गरेर अरनिको समाजका सदस्यहरुबीच वसन्त चाड मनाउन थालिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले नेपाली सर्वसाधारण जनतालाई प्रत्यक्ष रुपमा राहत पुग्ने कार्यक्रमहरुको माध्यमबाट नेपाल चीन जनस्तरीय मैत्री सम्बन्धलाई प्रगाढ बनाउन क्रियाशिल भएको पनि बताउनु भयो ।

वहाँले अरनिको समाजले गर्दै आएका कार्यक्रमबारे जानकारी दिँदै भन्नु भयो, “अरनिको समाजले विभिन्न स्वास्थ्य शिविरहरु, प्राज्ञिक कार्यक्रमहरु, चिनिया साहित्य, चलचित्र तथा टिभि सिरियलहरुको नेपाली रुपान्तरण र प्रकाशन एवम् प्रसारण आदि गर्दै आएको छ । निकट भविष्यमा नै चिनिया लोकप्रिय सिरीयल बु्रसलीको ३० भागको धारावाहिक कार्यक्रम समेत प्रसारण गर्ने तयारी भैरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अरनिको समाजका कार्यक्रमहरुमा चिनिया राजदुतावास, चीनका विभिन्न प्राज्ञिक निकाय तथा संस्थाहरु, चीन सरकार लगायतको महत्वपूर्ण सहयोग रहँदै आएको जानकारी दिनुहुँदै अध्यक्ष श्रेष्ठले त्यसको लागि सम्बन्धित सबैलाई धन्यावाद ज्ञापन गरे ।

प्रतिकृया दिनुहोस्