News Portal

  • चीनमा देखिएको नयाँ रोग ‘कोरोनाभइरस’ डडेलोझैं फैलिँदै, ६ जनाको मृत्यु, ४ सय बिरामी

    ५८९ पटक

    काठमाडौँ । चीनमा देखिएको नयाँ रोगका कारण ६ जनाको मृत्यु भइसकेको छ । चिनियाँ अधिकारीहरुले रोगलाई नियन्त्रण गर्ने प्रयास जारी राखेपनि रोग फैलिरहेको छ।

    ‘कोरोना भाइरस’ नाम दिइएको यो रोगका कारण विश्वलाई नै चिन्तित बनाएको छ । चीनको मध्य क्षेत्र वुहान सहरमा केही हप्तापहिले देखिएको यो रोगका कारण मंगलबारसम्म ६ जनाको मृत्यु भइसकेको वुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन ‘सीसीटीभी’लाई जानकारी गराएका छन् ।

    उक्त रोगबाट प्रभावितहरूको संख्या २९१ पुगेको साथै सोमबार र मंगलबार गरी थप ८० बिरामी उपचारका लागि अस्पतालहरूमा पुगेको उनले बताए । कोही स्थानीय अस्पतालमा भएकोले एकिन विवरण आउन नसकेपनि करिब ४ सय रोगबाट प्रभावित भएको बताइएको छ ।

    अहिलेसम्म उपचारको विधि र औषधि पत्ता नलागेको यो रोग चीनबाट अन्य देशहरुमा फैएिको खबरले विश्व नै चिन्तित भएको छ । एसियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रीहरूको परीक्षणलाई कडा बनाइएको छ ।

    चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाई यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन् ।

    यस्तो हुन्छ कोरोनाइरस लागेपछि

    सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्नेजस्ता साधारण चिसो, फ्लु वा निमोनिया लागेजस्तो हुन्छ । बिस्तारै यो बढेर बिरामीको मृत्यु हुने गरेको छ । यसको सुरुको लक्षण सामान्य भएकोले मानिसहरुले सामान्य रोगको रुपमा लिने हुँदा गारो हुने गरेको छ ।

    यसको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको बताइएको छ । बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरिएको छ । रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ ।

    अनुसन्धानकर्ताहरूले नयाँ रोगको संक्रमण चीनबाहिर पनि नगन्य मात्रामा रहेको बताएका छन् । उनीहरूकाअनुसार थाइल्यान्डमा दुई र जापान र दक्षिण कोरिया पनि एकरएकजनामा संक्रमण देखिएको छ ।

    माथि उल्लेखित लक्षण देखिए स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरुले अपील गरेका छन् ।

    प्रतिकृया दिनुहोस्