News Portal

प्रतिबन्धबीच नेकपाले २५ औं जनयुद्ध दिवस मनाउँदै, काठमाडौंमा जनसभा

१५६० पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ । देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन लागेको जानकारी प्राप्त भएको छ ।

जनयुद्ध दिवसका अवसरमा देशैभर खुला कार्यक्रम र काठमाडौँमा केन्द्रीत ठूलो जनसभा आयोजना गर्ने नेकपाले बताएको छ । नेकपाका नेताहरू खुला सार्वजनिक कार्यक्रममा सहभागी नभइरहेको अवस्थामा नेकपाले काठमाडौंमा खुला जनसभा गर्ने र उक्त सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

नेपाली जनताले भोगेको सामन्ती दासता, पुँजीवादी शोषण–उत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्ति पाउनका लागि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सञ्चालन गरेको २४ वर्ष पूरा भएर २५ वर्ष लागेको अवसरमा २५ औँ जनयुद्ध दिवस देशव्यापी रूपमा मनाउने नेकपा स्रोतले बताएको छ । तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको स्मरणमा नेकपाले २५ औँ जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्ध लडेर आएको माओवादीको एउटा धोकेबाज नेतृत्व महान् सहिदहरूको रगत लतपतिएको रक्तरञ्जित झन्डा फालेर संसद्वादमा पतन भएको भन्दै विप्लवको नेतृत्वमा नेकपाले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अघि सारेको छ । उसले हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।

जनयुद्धको तयारीस्वरूप २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले देशका मुख्य ३ ठाउँमा फौजी आक्रमण गरी जनयुद्धको विधिवत् आरम्भ गरेको थियो । त्यसमध्ये रुकुम आठबीसकोट प्रहरीचौकी आक्रमण र कब्जाको नेतृत्व हाल विप्लव नेतृत्वको नेकपाका नेता सुदर्शन र गणेशमान पुनले गरेका थिए । उक्त चौकी आक्रमणका योजनाकार तथा कमिसार सुदर्शन हाल राजद्रोहको मुद्दामा नख्खु काराकागारमा बन्दी छन् ।

यस्तै रोल्पाको होलेरीमा नन्दबहादुर पुन ‘पासाङ’ र वर्षमान पुन ‘अनन्त’ को नेतृत्वमा आक्रमण गरिएको थियो । यस्तै हाल सत्तारुढ (नेकपा)का नेता हरिबोल गजुरेल ‘शीतलकुमार’ नेतृत्वको छापामार दस्ताले सिन्धुलीको सिन्धुलीगढीमा रहेको चौकी कब्जा गरेको थियो । यी तीन प्रहरी चौकी आक्रमण गरेर तत्कालीन माओवादीले सशस्त्र जनयुद्धको सुरुआत गरेको थियो ।

त्यसरी नेकपाले जनयुद्ध दिवसका अवसरमा सहिद परिवार भेटघाट, अभिनन्दन, सहिद सप्ताहलगायत कार्यक्रम गर्ने भएको छ ।

नेकपाले जनयुद्ध दिवसको अबसरमा एउटा पोष्टर सार्वजनिक गरेको छ । जनयुद्धको अबसरमा पार्टीका महासचिव विप्लवले विशेष सम्बोधन गर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्